लगानी सम्मेलनले गैरआवासीय नेपाली, विदेशी र स्वदेशी निजी क्षेत्रको लगानीलाई प्राथमिकतामा राखेको छ: महत



काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले लगानी सम्मेलनले विदेशी लगानीकर्ताका साथै गैरआवासीय नेपाली र स्वदेशी निजी क्षेत्रको लगानी आकर्षणलाई प्राथमिकतामा राखेको बताएका छन् ।

शुक्रबार तेस्रो लगानी सम्मेलन निर्देशक समितिको दोस्रो बैठकमा उनले सम्भाव्य विदेशी लगानीकर्ता तथा परियोजना पहिचान गरी ठोस सुझाव प्रस्तुत गर्न निजी क्षेत्रलाई आह्‍वान गरेका छन् ।

अर्थमन्त्री डा. प्रकाशशरण महत आगामी वैशाख १६ र १७ गते काठमाडौंमा आयोजना हुने लगानी सम्मेलनका लागि नीतिगत, कानुनी एवं प्रक्रियागत सुधार र परियोजना तयारीलाई तीव्रता दिन विशेष निर्देशन समेत दिएका छन् ।

आगामी लगानी सम्मेलन निजी क्षेत्र तथा विकास साझेदारहरूसँगको सहकार्यमा नेपाल सरकारले आयोजना गर्न लागेको हो । बैठकमा लगानी सम्मेलन सचिवालयका संयोजक एवं लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले हालसम्म भएका तयारीबारे जानकारी गराए ।

लगानी सम्मेलन आयोजना गर्नका लागि सरकारले अर्थमन्त्रीको संयोजकत्वमा निर्देशक समिति, मुख्य सचिवको नेतृत्वमा कार्यान्वयन समिति, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवको संयोजकत्वमा प्राविधिक समिति र लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृतको संयोजकत्वमा सचिवालय गठन गरी काम अगाडि बढाएको छ ।

साथै नीतिगत, प्रक्रियागत र कानुनी सुधारका लागि प्रधानमन्त्री कार्यालयका सचिव (आर्थिक पूर्वाधार महाशाखा) को संयोजकत्वमा कार्यदल गठन भएको छ ।यी सबै समिति र कार्यदलहरूले आ-आफ्नो क्षेत्रमा सक्रियतापूर्वक कार्य गरिरहेका छन् ।


क्लिकमान्डु