सामसङ ग्यालेक्सी एस २४ एआई फिचर्सका साथ सार्वजनिक, यस्ता छन् विशेषता



एजेन्सी । दक्षिण कोरियाली प्रविधि कम्पनी सामसङ ग्यालेक्सी एस २४ एआई फिचर्सका साथ सार्वजनिक भएको छ ।

समसङले एस २४ सँगै एस २४ प्लस र एस २४ अल्ट्रालाई सार्वजनिक गरेको हो । अमेरिकाको क्यालिफोर्नियामा बुधबार भएको कार्यक्रममा कम्पनीले तीन स्मार्टफोनहरु सार्वजनिक गरेको हो ।

यी तीनै वटा फोनहरु एआई फिचर्ससहित रहेका छन् । सेमसंग ग्यालेक्सी एस २४ सिरिजका तीन फोनमा एआई नोट असिस्ट, च्याट असिस्ट, इन्टरप्रेटर, फोटोमोजिस, सर्कल टु सर्च र रियल टायम अनुवादजस्ता फिचर्सहरु रहेका छन् ।

फोनमा एआईमा आधारित फोटो असिस्ट सुविधा रहेको छ । यो एआईको सहयोगले कुनै पनि फोटोमा रहेका वस्तुलाई हटाउन वा त्यसलाई अर्को ठाउँमा सार्न सकिनेछ । सँगै फोटोको गुणस्तरलाई थप परिस्कृत बनाउनमा पनि यो फिचर्सले सहयोग गर्ने कम्पनीले दाबी गरेको छ ।

त्यस्तै सर्कल टु सर्च फिचरले कुनै पनि फोटो वा वस्तुको वरिपरि गोलो बनाएर त्यसलाई गुगल सर्चमा खोज्न सकिनेछ । नोट असिस्ट फिचरले प्रयोगकर्ताले लेख्ने कुरालाई संक्षिप्तीकरण गरिदिनेजस्ता सुविधाहरु दिन्छ ।

बुधबार सार्वजनिक भएका फोनहरु केही समयपछि विश्वबजारमा उपलब्ध हुनेछन् ।

यी फोनमा भएका अन्य विशेषताको कुरा गर्दा एस २४ अल्ट्रा तीन भेरियन्टमा उपलब्ध छ । ८ जि र्याम र १२८ जिबि स्टोरेज, ८ जिबि र्याम र २५६ जिबि स्टोरेज तथा ८ जिबि र्याम र ५१२ जिबि स्टोरेज गरि तीन भेरियन्टमा फोन उपलब्ध रहेको छ । तीन भेरियन्टको सुरुवाती मूल्य भने १ हजार २९९ अमेरिकी डलर रहेको छ ।

त्यस्तै, ग्यालेक्सी एस २४ प्लसमा दुई भेरियन्ट उपलब्ध रहेका छन् । जसमा १२ जिबि र्याम र ३५६ जिबि स्टोरेज तथा १२ जिबि र्याम र ५१२ जिबि स्टोरेजको सुविधा रहेको छ । एस २४ प्लसको सुरुवाती मूल्य भने ९ सय ९९ अमेरिकी डलर रहेको छ ।

ग्लोक्सी एस २४ मा भने ८ जिबि र्याम र १२८ जिबि स्टोरेज तथा ८ जिबि र्याम र २५६ जिबि स्टोरेज सहितका दुई भेरियन्ट रहेका छन् । यसको सुरुवाती मूल्य भने ७ सय ९९ अमेरिकी डलर रहेको छ ।

एस २४ सिरिजअन्तर्गतको एस २४ अल्ट्रा फोनमा डायनामिक एमोलेड २एक्स डिस्प्ले रहेको छ भने स्क्रिन ६.८ इन्चको रहेको छ । फोनको स्क्रीनमा कार्निग गोरिल्ला आर्मरको सुरक्षा रहेको छ र यसको रिजोलुसन भने ३१२० इन्टु १४०० क्वाड एचडि प्लस रहेको छ ।

फोनमा रहेका क्यामेराको कुरा गर्दा २ सय मेगापिक्सलको वाइड एंगल अप्टिकल जुम लेन्स, १२ मेगापिक्सलको अल्ट्रावाइड र ५० मेगापिक्सलको पाँच गुणा अप्टीकल जुम लेन्स रहेका छन् । फोनको फ्रन्ट क्यामेरा वा सेल्फी क्यामेरा भने १२ मेगापिक्सलको रहेको छ ।

स्नेपड्रागन ८ जेन ३ प्रोसेसर को एस सिरिजका फोनहरुमा टाइटेनियम फ्रेमको प्रयोग भएको छ भने यसमा ५ हजार एमएएचको ब्याट्री क्षमता रहेको कम्पनीले दाबी गरेको छ । एस २४ अल्ट्रा ६ रंगमा उपलब्ध रहेको छ ।

त्यस्तै, एस २४ प्लसमा ६.७ इन्चको डिस्प्ले रहेको छ, जसको गुणस्तर क्वाड एचडीप्लस रहेको छ । फोनमा रहेका तीन क्यामेराहरुमा ५० मेगापिक्सलको वाइड एंगल क्यामेरा, १० मेगापिक्सलको डबल टेलिफोटो लेन्स र १२ मेगापिक्सलको अल्ट्रा वाइड लेन्स रहेका छन् । यसमा फ्रन्ट क्यामेरा १२ मेगापिक्सलको रहेको छ ।

फोनमा एक्सीनस २४०० डेकाकोर प्रोसेसरको प्रयोग गरिएको छ र ब्याट्रीको क्षमता ४ हजार ९ सय एमएएच रहेको कम्पनीले जनाएको छ ।

त्यस्तै, सबैभन्दा कम मूल्यको एस २४ सिरिजको ग्यालेक्सी एस २४ मा भने ६.२ इन्चको डिस्प्ले रहेको छ । यसमा ५० मेगापिक्सलको वाइड एंगल, १० मेगापिक्सलको डबल टेलिफोटो र १२ मेगापिक्सलको अल्ट्रा वाइड क्यामेरा गरि तीन लेन्ससहितको ब्याक क्यामेरा रहेका छन् भने फ्रन्ट क्यामेरा १२ मेगापिक्सलको रहेको छ । एस २४ मा एक्सीनार २४०० डकोकोर प्रोसेसरको प्रयोग गरिएको छ र यसमा ब्याट्रीको क्षमता भने ४ हजार एमएएच रहेको छ ।


क्लिकमान्डु