काठमाडौंमा ब्रान्डेड विदेशी मदिराको नाममा नक्कली रक्सी बनाउने कारखाना, ९ जना पक्राउ



काठमाडौं । प्रहरीले ब्रान्डेड रक्सीको बोतलमा नक्कली रक्सी मिसावट गरी बिक्री गर्ने गिरोहलाई पक्राउ गरेको छ ।

ब्राण्डेड रक्सीको बोतलमा विभिन्न रसायनिक पदार्थसहित नक्कली सस्तो रक्सी मिसावट गरि बिक्री गर्ने गिरोहलाई पक्राउ गरिएको हो । प्रहरीको अपराध अनुसन्धान महाशाखाले यस्तो रक्सी बिक्री गर्ने ९ जनालाई पक्राउ गरेको जनाएको छ ।

पक्राउ पर्नेमा रामेछाप घर भएका मनोज खत्री, महेश खत्री, मनिष खत्री र विनोदकुमार कार्की, सिन्धुपाल्चोक घर भएका मोहन खड्का र रोशन कार्की, सिन्धुली घर भएका गौरव तामाङ र लेखविक्रम थापा तथा काठमाडौँ घर भएका सुमन नगरकोटी रहेका छन् ।

यस्ता रक्सी विभिन्न रेष्टुँरासहित होटेल तथा पार्टी प्यालेसमा बजार मूल्यभन्दा सस्तो मूल्यमा उनीहरुले बिक्री गर्दैगरेको तथ्य फेला परेको छ । यो गिरोहले चिभास, डबल ब्ल्याक, ब्ल्याक लेभल, भोड्का, रमलगायतका बोतलमा सस्तो रक्सी मिसाएर बिक्री गर्दै आएको थियो ।

प्रहरीका अनुसार अन्त शुल्कको स्टिकर टाँसेर ति गिरोहले नक्कली रक्सी बिक्री गर्दैआएको सूचनाको आधारमा काठमाडौंको विभिन्न नक्कली मदिराको कारखाना र गोदाममा छापा मारेर उनीहरुलाई रक्सीसहित पक्राउ गरिएको हो ।


क्लिकमान्डु