प्रभु मनि ट्रान्सफरको आम्दानी ३० प्रतिशतले घट्यो



काठमाडौं । नेपालमा पछिल्लो समय रेमिट्यान्स भित्र्याउन वाणिज्य बैंकहरुको प्रतिस्पर्धा बढ्दो छ । वाणिज्य बैंकहरुको रेमिट्यान्स व्यवसायमा बढ्दो प्रतिस्पर्धाका कारण सेवा शुल्कमा कमी आएको छ ।

सेवा शुल्कमा कमी आउँदा विगतको दिनमा उच्च कारोबार गर्दै आएको रेमिट्यान्स सेवा प्रदायक कम्पनीहरुको व्यापार घट्दो क्रममा छ ।

यसैबीच प्रभु मनि ट्रान्सफर प्रालिको आम्दानी पनि घटेको छ । कम्पनीको आम्दानी सन् २०२२ को तुलनामा सन् २०२३ मा ३० प्रतिशतले कम भएको हो । कम्पनीअनुसार रेमिट्यान्स व्यवसायमा वाणिज्य बैंकहरुको बढ्दो प्रतिस्पर्धाका कारण कमिसन र विदेशी विनिमय आम्दानीमा आएको कमीले ३० प्रतिशतले आम्दानी घटेको हो ।

कम्पनीले सन् २०२० मा ७० करोड रुपैयाँको कारोबार गर्दा २०२१ मा ५४ करोड ८० लाख रुपैयाँ, सन् २०२२ मा ४४ करोड १० लाख रुपैयाँ र सन् २०२३ मा ३० करोड ९० लाख रुपैयाँको आम्दानी गरेको हो ।

सन् २००२ देखि रेमिट्यान्स सेवा प्रवाहमा काम गर्दै आएको कम्पनीको नेपाल र अन्य देशमा पनि सञ्जाल छ । कम्पनीले नेपालबाहेक अन्य विभिन्न देशका २५ वटा कम्पनी/बैंक/एफआईएस र अन्य सम्बन्धित नेटवर्कसँग समझदारी गरेर सेवा दिँदै आएको छ ।

हाल कम्पनीका ६ हजार बैंकिङ ऐजेन्ट, ३ हजार व्यक्तिगत एजेन्ट र करिब ३ हजार को–अपरेटिभ एजेन्ट छन् ।

प्रभु मनि ट्रान्सफर मलेसिया, कतार, साउदी अरेबिया, कुबेत, युएई र अमेरिकामा नेपालीमाझ चर्चित छ । कम्पनीको व्यवस्थापन रामेश्वर सापकोटाले गर्दै आएका छन् । कम्पनीले स्वदेशमा पनि मनि ट्रान्सफरको सेवा दिँदै आएको छ । कम्पनीको विश्वभर १२ हजार नेटवर्क छन् ।


क्लिकमान्डु