कुकुरलाई स्वीमिङ पुल र होटलसहितको सेवा दिँदै पेटमामा, निकिताको आइडियाले भर्दैछ व्यावसायिक उडान



कुकुरलाई नुहाइधुवाई गर्ने, डे केयरको सुविधा दिने, होटल तथा होस्टल सेवा दिने उदेश्यले पेटमामा खुलेको छ । पेटमामाले घरपालुवा जनावरलाई दिने सेवामा व्यवसायीक भविष्य देखेकै कारण झम्सिखेलबाट बलुवाटारमा विस्तार भइसकेको छ ।

काठमाडौं । कुकुरलाई पछिल्लो समय ‘मनुमित्र’ भनेर चिन्ने र चिनाउने जमात बढ्दै गएको छ । कुकुर मान्छेको साथीसँगै द्वारपाले मात्रै नभएर निकै माया पाउने जनवार पनि हो । सहरमा पछिल्लो समय कुकुर पाल्ने संस्कृति बढ्दै गएको छ । जसकारण, स्याहार गर्न, ढुक्कले छोडेर हिँड्न वा एकदिन घर बाहिर निस्कनुपर्दा छोड्ने ठाउँको चिन्ताले कुकुर प्रेमीलाई सताउने गरेको थियो ।

कुकुर प्रेमीले भोग्दै आएको उक्त समस्या टार्न काठमाडौंकी निकिता जलानले नयाँ आइडिया निकालेकी छन् । र, निकिताले सुरु गरेको पेटमामाले कुकुर तथा बिरालोजस्ता घरपालुवा जनावरको हेरचार गर्ने काम गर्छ ।

निकिताले गत शुक्रबार नेपाल युवा उद्यमी फोरम (एनवाइइएफ)ले आयोजना गरेको स्टार्टअप प्रतियोगितामा कुकुरको दिनरात स्याहार गर्ने र स्वीमिङ पुलदेखि होटलसम्मको सुविधा दिने योजना सुनाइन् । र, उनको योजना प्रतियोगिताको फाइनलसम्म पुग्यो । निकिताले व्यस्त सहरीया जीवनसँग बाँच्नेहरूसँगै कुकुरप्रेमीलाई आकर्षित गर्ने ‘पेटमामा’को विषयमा दिएको ५ मिनेटको एक प्रस्तुतीकरणले ५० हजार नगदसहित अडियन्स च्वाइस अवार्ड हात पारिन् ।

डेढ वर्षअघि लतितपुरको झम्सिखेलमा जम्मा २ वटा कोठाबाट सुरु गरेको कुकुरलाई सेवा दिने पेटमामा अहिले बालुवाटरमा पनि विस्तार भइसकेको छ । निकट भविष्यमै पोखरा र चितवनमा पनि फैलाउने तयारी निकिताको छ । उपत्यका बाहिरबाट पनि पेटमामाको माग आइरहेकोले छिट्टै राजधानी बाहिर पुग्ने योजना बनाइरहेको उनले सुनाइन् । सुरुवाती लगानी १७ लाख रुपैयाँ रहेकाे पेटमामाले आगामी वर्षपछि साढे ३ कराेड बार्षिक आम्दानी गर्ने आकर्षक याेजनासमेत रहेकाे उनले बताइन् ।

निकिताले बालुवाटार र झम्सिखेलमा कुकुरलाई नुहाइदिने, केश तथा नङ काटिदिनेसहित (ग्रुमिङ) गर्नेसँगै डे केयरकोसमेत सुविधा दिइरहेकी छन् । डेढ वर्षअघि एक्लै खटेर सुरु भएको निकिताको पेटमामाले अहिले २५ जनाको टीम बनाइसकेको छ ।
निकिता भन्छिन्- ‘मेरो प्यासनलाई व्यवसायमा परिणत गर्न सफल भएको छु । मलाई केटाकेटीदेखि नै कुकुर असाध्यै मन पर्थ्यो।’

भारतमा अध्ययन गर्न जाँदा नेपालमै कुकुरका लागि सेवा दिने गरी काम गर्ने सोच आएको थियो उनमा । निकिताले क्लिमान्डुँगको कुराकानीमा पेटमामा सञ्चालनका लागि फुरेको आइडियाबारे भनिन् ‘त्यतिबेला आफ्नै क्लासमेटको घरमा कुकुर हुन्थ्यो । हामीसँगै पार्कमा जाने, ग्रुमिङ गर्न लैजाने गथ्र्यौं । त्यो देखेर म पनि कुकुरप्रेमी भएकोले हुनसक्छ नेपालमा सानो–सानो सुविधा दिँदै यसैलाई व्यवसाय बनाउन सकिन्छ भन्ने लाग्यो । मेरो प्यासन भएकोले भिनाजुसँगको सल्लाहपछि मैले यही काम गर्ने निर्णय गरेँ ।’

कुुकुर पाल्नु शोखको विषय हो । शोखमा हुर्काउने प्राणीलाई हामीले सेवा पनि राम्रो दिएर हुर्काउनुपर्छ भनेर मान्छेहरुलाई बुझाउन अझै पनि गाह्रो छ । कुकुर स्याहारमा देखिएको चुनौतिलाई सामान गर्ने काम गरिरहेकी निकिता भन्छिन्, ‘कुकुरलाई घरमा आफैंले नुहाइदिन सबै सिहाबले सहज हुँदैन । त्यसका लागि हामीले पेटमामाबाट सेवा दिन सक्छौं भन्ने हो । यहाँ कुकुरलाई नुहाउने मात्रै नभएर त्यसका लागि आवश्यक सामग्री कति चाहिन्छ भनेर मिलाएका पनि हुन्छौं ।’

कुकुरलाई नुहाइदिने मात्रै नभएर त्यसको रौंमा कुन स्याम्पो प्रयोग गर्ने, कति भित्रसम्म पुगेर रौंहरू सफा गर्ने, रौं कति काट्ने भन्नेसम्म ज्ञान हुनुपर्ने र त्यसैलाई ध्यान दिएर गरिने काम नै पेटमामाले गर्न थालेको छ । कुकुरको लामो रौं हुनु उसका लागि जाडो–गर्मी दुबै सहने क्षमता हो । यसको लागि बेलाबेलामा ग्रुमिङ गरेर कुकुरलाई सधैं राम्रो र आफैंसँग बस्ने खाने साथी बनाउनुपर्ने बुझाइ निकिताको छ ।

उनले भनिन्, ‘हामी प्रोफेसनल्ली काम गर्ने गर्छौं । जसरी मान्छेहरू घरमै गर्न सकिने आफ्नो सौन्दर्यको कामको लागि पार्लर जान्छन त्यसैगरी कुकुरलाई पनि अलि फरक र व्यवस्थित तरिकाले सेवा दिनुपर्छ भन्ने हो ।’

घरमा कुकुरलाई नुहाइदिँदा पर्याप्त समय दिन नसकिने हुन्छ ।

निकिता भन्छिन्, ‘घरमा दिने यस्तो सेवा सहज नहुन पनि सक्छ । हामीकोमा आएको कुकुरलाई २ घण्टाको समय दिएर नुहाईदिने र प्रोफेसनल्ली ग्रुमिङ गर्ने गर्छौं, उसकै लागि नुहाउने टप बनाइएको छ भने सोही अनुसारको स्याम्फू प्रयोग गर्छौं । हामीसँग कुकुरकै लागि स्ट्याण्र्डड प्लेस भएकोले दुई घण्टाको समय दिनु भनेको दुईपटक कन्डिसन राखेर नुहाउने, ब्लो ड्राई गर्ने, उसको भित्री रौंहरू पनि घर लैजाँदा नखस्ने बनाउने, आयल मसाज ट्रिटमेन्ट, उपियाँ तथा किर्नाको ट्रिटमेन्ट हुन्छ । जसले गर्दा घरमा गर्नुभन्दा धेरै राम्रोसँग सेवा दिने कामका लागि पेटमामा सुरु भएको हो ।’

अहिले पेटमामाले कुकुरको डे केयरको सुविधा दिएको छ । यसले कुकुरलाई सोसलाइजेसन बनाउने काम गरिरहेको छ । कामको व्यस्तताले बाहिरतिर निस्कनुपर्ने व्यक्ति वा अफिस जानेले २/४ घण्टा यहाँ राखेर सोसलाइज बनाउन पनि पेटमामाले ग्राहकलाई आग्रह गर्ने गरेको छ ।

जो कोहीले पनि कुकुरलाई माया गरेको छु भनेर घरमा बाँधेरमात्रै हुँदैन । कुकुरको पनि बाहिरतिर घुम्ने, नयाँ साथी भेट्ने, सामाजिक हुने चाहना हुन्छ, त्यो काम अहिले पेटमामाले गर्दै आएको उनकाे भनाइ छ । पेटमामामा कतिपय कुकुर त सोसलाइजेसनका लागि मात्रै भनेर पनि आउने गरेका छन् । जसले गर्दा त्यसको व्यवहार परिवर्तन हुन्छ । पेटमामामा कुकुरको लागि स्वीमिङ पुल र होस्टल तथा होटल निर्माण हुँदै छ । यी सुविधा थप भए पनि कुकुरलाई यहाँ ल्याएर छोड्दा सोसलाइजेसन गर्न थप सहज हुने बुझाई पेटमामाकी प्रमुख कार्यकारी अधिकृत (सीइओ)समेत रहेकी निकिताले बताइन् ।

उनी भन्छिन्, ‘घरमा कसैको बर्थ डे भयो वा कुकुरकै वर्थडेसहितको कुनै पनि इभेन्टमा उसलाई नयाँ कुरा खुवाउने र घुमाउने बहाना हुन सक्छ । त्यसको लागि पेटमामामा होटलको सुविधा हुँदै छ ।’ उनका अनुसार १५ वटा कुकुरलाई होस्टलमा राखेर सेवा दिन सक्ने क्षमता बनेको छ । आवश्यकता अनुसार यो स्पेस बढाउँदै जान पनि सकिन्छ ।

पेटमामामा अहिले डे केयरको सुविधा दिन लिन धेरै कुकुर आउने गरेका छन् । धेरैजसोले अफिस जाने समयमा कुकुरलाई ल्याएर छोड्ने र ४/५ घण्टासम्म राख्ने र घर फर्कदा लैजाने गरेका छन् । यो समयमा हामीले सोसलाइज बनाउने, दिनभरी गार्डेनमा खेलाउने, कुकुरलाई मनपर्ने खाना दिने र ग्रुमिङ गराएर घर पठाउने गरिएको छ । मान्छेहरूको इच्छाअनुसार लिन र पुर्याउन जाने सुविधा पनि पेटमामाले दिएको छ ।

अहिले तय भएका कुकुरको सेवाका लागि किफायती शुल्क नै तोकिएको उल्लेख छ । यसले सामान्यतया सानो कुकुरलाई २ हजार १ सय र ठूलोको लागि २ हजार ६ सय रुपैयाँ ग्रुमिङ गरेको शुल्क लिने गरी प्याकेज बनाएको छ । यसले दिएकै सुविधा बाहिरतिर भने निकै महंगो हुन्छ । परिवेश र ग्राहकको चाहनालाई बुझेर प्याकेज ल्याएको दावी पेटमामाको छ ।

कुकुर पाल्नेहरूको सामान्यतया कम्तिमा मासिक ४ हजार रुपैयाँ खर्च हुन्छ । एउटा ग्राहकले आफ्नो घरमा गर्ने एक महिनाको खर्चमा पेटमामाले त्यो कुुकुरको स्याहारमा खर्च गर्नुपर्छ भनेर बुझाउँदै व्यवसायीक काम गरिरहेको पनि उल्लेख छ ।

कुकुर पाल्नेले समय दिनुपर्ने, स्पेश हुनैपर्छ भने सो अनुसारको न्यूनतम शुल्क मासिकरूपमा खर्च गर्नेपर्ने हुन्छ । कुकुर पालिसकेपछि नियमित ग्रुमिङ गराउन लैजाने र उसको व्यवहार पनि सुधार गर्दै जानुपर्ने हुन्छ । कुकुरलाई बरन्डामा बाँधेरमात्रै राख्ने, लट्टा परुन्जेल ननुहाउने र उसलाई बेला बेलामा घुमफिर नगराउन हो भने पाल्नुको कुनै अर्थ पनि त हुँदैन । त्यसैले नियमित ग्रुमिङ गर्ने सहितको सुविधा कुकुरप्रेमीको लागि पेटमामा उपयुक्त माध्यम हुनसक्छ ।

पेटमामाले दिने सेवा विस्तारै अनलाइनमार्फत पनि बढाउँदै जाने भएको छ । अहिले पनि क्लाइन्टले बुकिङ नगरी सिधै आउने सुविधा अक्सर हुँदैन् । एउटा कुकुरको लागि २/३ घण्टाको समय लाग्ने भएकोले बुकिङ गरेरै जानुपर्ने हुन्छ । यसका लागि सिजन अनुसार समय बढी व्यथित गर्नुपर्ने पनि हुन्छ । जाडोको समयमा अलि समय पाउन सजिलो हुन्छ भने तिहारको बेला अर्थात सिजनमा भने २ साता अगाडि नै बुकिङ गर्नुपर्ने छ । सिमित स्टाप र स्पेश हुने भएकोले ग्राहकलाई आएर धेरैबेर पर्खनु नरोस् भन्ने उद्देश्यले पनि बुकिङ गरेर आउँदा सहज हुने बुझाइ पेटमामाको छ ।

फोटो/भिडियो: युवराज भट्टराई/क्लिकमान्डु


राजु बास्कोटा