२ खर्ब ४२ अर्ब सहुलियत ऋण प्रवाह हुँदा २२ अर्ब ३९ करोड ब्याज अनुदान



काठामाडौं । बैंक तथा वित्तीय संस्थाले चालु आर्थिक वर्षको मंसिर महिनासम्म सहुलियत ऋण अन्तर्गत २ खर्ब ४२ अर्ब बराबरको ऋण प्रवाह गरेका छन् ।

नेपाल राष्ट्र बैंककाअनुसार चालु वर्षको मंसिर मसान्तसम्म १ लाख ४० हजार १ सय १५ ऋणीलाई २ खर्ब ४२ अर्ब बरारबको ऋण प्रदान भएको हो ।

बैंक तथा वित्तीय संस्थाले प्रदान गर्दै आएको १० प्रकारका सहुलियत ऋणमा राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई ब्याजमा अनुदान दिँदै आएको छ । जसअनुसार राष्ट्र बैंकले मंसिर महिनासम्म अनुदान बापत २२ अर्ब ३९ करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थालाई प्रदान गरेको छ।

यसरी सहुलियतपूर्ण ऋण लिनेमा सबैभन्दा धैरै कृषि क्षेत्रका छन् । सबैभन्दा धेरै व्यवसायिक कृषि तथा पशुपंक्षी कर्जातर्फ धेरै कर्जा प्रवाह भएको हो ।

बैंक तथा वित्तीय संस्थाबाट कृषि तथा पशुपंक्षी क्षेत्रमा ७५ हजार ४ सय १६ जना ऋणीलाई १ खर्ब ५४ अर्ब ३९ करोड रुपैयाँ कर्जा प्रवाह हुँदा धितोसहितको कर्जा शीर्षकमा १ अर्ब ५१ करोड रुपैयाँ प्रवाह भएको हो । बिना धितो कर्जामा भने यो अवधिमा २ अर्ब ८६ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ ।

यो बाहेक महिला उद्यमशिल कर्जा शीर्षकमा पनि ८४ अर्ब ४४ करोड रुपैयाँ ऋण प्रवाह भएको छ । मंसिर महिनासम्म ८० हजार २ सय २७ जनाले महिला उद्यमशिल कर्जा लिएका छन् ।

यस्तै कपडा उद्योगको सञ्चालन शीर्षकमा १ अर्ब ९८ करोड रुपैयाँ, विदेशबाट फर्केका युवा परियोजना कर्जा शीर्षकमा ६९ करोड ६८ लाख, दलित समुदाय व्यवसाय विकास कर्जा शीर्षकमा ६८ करोड ९ लाख रुपैयाँ, शिक्षित युवा स्वरोजगार शीर्षकमा ७ करोड ५५ लाख रुपैयाँ कर्जा प्रवाह भएको छ ।

यो बाहेक उच्च प्राविधिक तथा व्यवसायिक शिक्षा कर्जा शीर्षकमा ४ करोड १६ लाख,भूकम्पपीडितहरुको निजी आवस निर्माणमा ४ करोड ६८ लाख र प्राविधिक तथा व्यवसायिक तालिम परिषदबाट मान्यता प्राप्त संस्थाबाट दिइने तालिम शीर्षकमा ४ लाख रुपैयाँ प्रवाह भएको हो ।


क्लिकमान्डु