१४ करोड बढीले घट्यो इकमर्शको कारोबार



काठमाडौं । वस्तुको अनलाइन खरिद बिक्री (इकमर्श)को कारोबार मंसिर महिनामा घटेको छ । कात्तिकको तुलनामा मंसिर महिनामा इकमर्शको कारोबारमा १४ करोड २० लाख रुपैयाँले कमी आएको हो ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार इकमर्श शीर्षकमा कात्तिक महिनामा ८६ करोड ३० लाख रुपैयाँ कारोबार हुँदा मंसिर महिनामा ७२ करोड २१ लाख रुपैयाँको मात्रै कारोबार भएको हो।

असोज र कात्तिक महिनामा चाडपर्वका कारण इकमर्शको कारोबार धेरै हुने गर्छ । राष्ट्र बैंकको तथ्यांकअनुसार कात्तिकमा बढेको कारोबार चाडपर्व सकिएसँगै ओरालो लागेको देखिन्छ ।

यद्यपि, गत वर्षको तुलनामा भने यो वर्षको मंसिरमा इकमर्शको कारोबार बढेको हो । गत वर्ष सोही अवधिमा इकमर्शको कारोबार ६० करोड ५० लाख रुपैयाँ थियो भने यो वर्ष बढेर ७२ करोड २१ लाख पुगेको हो ।

यो अवधिमा इकर्मशमा उपभोक्ताले १ लाख २५ हजार १ सय ७० पटक कारोबार गरेका हुन् । कात्तिकमा यस्तो कारोबार १ लाख १ हजार ८सय ४६ पटक गरेका थिए ।

कात्तिक महिनामा इकमर्श क्षेत्रको कारोबार संख्या घटे पनि कारोबार रकम भने उल्लेख्य बढ्न पुगेको हो । तुलनात्मक रुपमा मंसिरमा कारोबार धेरै भएको छ । मंसिर महिनामा १ लाख २५ हजार १ सय ७० पटक कारोबार भएको हो ।


क्लिकमान्डु