आयल निगमको कार्यकारी निर्देशक बन्न १४ जनाको प्रतिस्पर्धा



काठमाडौं । नेपाल आयल निगमको कार्यकारी निर्देशक बन्न १४ जना प्रतिस्पर्धामा उत्रिएका छन् । निगममा रिक्त कार्यकारी निर्देशक बन्न १४ जनाले आवेदन दिएका छन् ।

रिक्त कार्यकारी निर्देशक नियुक्त गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले पुस ७ गते आवेदन माग गर्दै सार्वजनिक सूचना जारी गरेको थियो । गोरखाका चण्डिकाप्रसाद भट्टलेसमेत कार्यकारी निर्देशकको लागि आवेदन दिएका छन् ।

मन्त्रालय अन्तर्गतको विशेष आर्थिक क्षेत्र प्राधिकरण (सेज) को कार्यकारी निर्देशक रुपमा भट्ट अहिले कार्यरत छन् । सेजमा भट्ट दोश्रो कार्यकाल बिताइरहेका छन् । निगममा कार्यकारी निर्देशक भर्नाका लागि आवेदन खुल्दा सबैभन्दा बढि पटक भट्टले नै निवेदन बुझाउँदै आएका छन् । हालसम्म भट्टले कार्यकारी निर्देशकका लागि तीन पटक प्रयास गरिसकेका छन् । उनी निगमका पूर्व महाप्रवन्धकसमेत हुन् ।

मन्त्रालयले २०७५ सालदेखि खुला प्रतिस्पर्धाबाट कार्यकारी निर्देशक छनोट गर्न थालेको हो । मन्त्रालयका अनुसार आवेदन दिनेमध्ये दाङका बसन्तकुमार पाण्डे पनि छन् । उनी हाल हेटौंडा सिमेन्ट उद्योग लिमिटेडमा
महाप्रबन्धकको जिम्मेवारीमा छन् । यस्तै टोखाका दिलिपशेखर श्रेष्ठ सहसचिवबाट अवकाश प्राप्त सिभिल इन्जिनियर हुन् । उनी सहरी विकास मन्त्रालयको सहरी विकास तथा भवन निर्माण विभागको उपमहानिर्देशकबाट अवकाश प्राप्त हुन् ।

यसबाहेक काठमाडौंका सहदेव चन्द, धनुषाधाम २ का रामदेव यादव र राजविराज १३ का सञ्जिवकुमार श्रेष्ठले पनि कार्यकारी निर्देशकका लागि आवेदन दिएका छन् । यसैगरी मोरङका पंकजकुमार दास, माधव रेग्मी र आमोदप्रसाद चौधरीले निवेदन दिएका छन् ।

त्यस्तै बाग्लुङ ९ का डोलिन्द्रप्रसाद शर्मा, ललितपुर महानगरपालिका २४ का शत्रुध्नप्रसाद पुडासैनी, लोहारपट्टि नगरपालिका ३ महोत्तरीका कमलेन्द्रलाल कर्ण, बूढानीलकण्ठ नगरपालिका ८ का उत्तरकुमार रेग्मी, भरतपुर महानगरपालिका १४ का डा. डोलप्रसाद चापागाईले पनि आवेदन दिएका छन् ।


क्लिकमान्डु