पारवहन र सहकार्य सम्बन्धी भारत-नेपाल अन्तरसरकारी उपसमिति बैठक सम्पन्न



काठमाडौँ । अनधिकृत व्यापार नियन्त्रणको लागी व्यापार, पारवहन र सहकार्य सम्बन्धी भारत-नेपाल अन्तर-सरकारी उपसमिति (आइजीएससी) को पछिल्लो बैठक पुस २७ देखि २८ गते काठमाडौँमा सम्पन्न भयो ।

काठमाडौँस्थित भारतीय राजदूतावास तथा विभिन्न मन्त्रालयका वरिष्ठ अधिकारी सम्मिलित भारतीय टोलीको नेतृत्व भारत सरकार वाणिज्य मन्त्रालयका सहसचिव विपुल बंशलले गरेका थिए भने विभिन्न नेपाली मन्त्रालय र विभागका प्रमुख प्रतिनिधि सम्मिलित नेपाली टोलीको नेतृत्व उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव रामचन्द्र तिवारीले गरेका थिए ।

व्यापार र लगानी सम्बन्धलाई सुदृढ बनाउन लक्षित द्विपक्षीय संयन्त्र आईजीएससीको यो बैठकले विभिन्न महत्वपूर्ण विषयहरूमा व्यापक छलफल गरेको भारतीय दूतावासद्धारा जारी प्रेस विज्ञप्तीमा जनाइएको छ । दुवै पक्षले औषधीय तथा आयुर्वेदिक वस्तुका लागि आपसी बजार पहुँच बारे छलफल पनि गरेका थिए ।

भारतीय पक्षले एफडीआईलाई प्रोत्साहन गर्न पेरिस महासन्धिको प्रावधान अनुसार आईपीआर व्यवस्थाको आवश्यकतामाथि प्रकाश पारेको थियो ।

नयाँ एकीकृत जाँच चौकी र रेलमार्ग निर्माणसहित भारत र नेपालबीचको निर्बाध अन्तरदेशीय कनेक्टिभिटीलाई थप सुदृढ गर्न द्विपक्षीय पहलको आवश्यकतालाई बैठकले जोड दिएको उक्त वैठकमा समृद्ध द्विपक्षीय व्यापारबारे साझा दृष्टिकोण प्रस्तुत गर्दै दुवै पक्षले यी पहलहरु कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

नेपालको आयात र निर्यातमा उल्लेखनीय योगदान पुर्याइरहेको भारत नेपालको प्रमुख व्यापार र लगानी साझेदारको रूपमा रहेको छ । यस बैठकमा भएको छलफलले दुई देशबीचको आर्थिक र व्यावसायिक सम्बन्धलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ ।


क्लिकमान्डु