सिंहदरबारको ग्यालरी बैठकको रेट्रोफिटिङ गरिँदै, चार बोलपत्र छनोट, खोलियो आर्थिक प्रस्ताव



काठमाडौं । सिंहदबारभित्र रहेको  पुरानो संसद् (ग्यालरी बैठक)को रेट्रोफिटिङका लागि आर्थिक प्रस्ताव खोलिने भएको छ ।

शहरी विकास मन्त्रालयअन्तर्गतको शहरी विकास तथा भवन निर्माण विभागको विशेष भवन निर्माण आयोजना समन्वय कार्यालयले सूचना निकाल्दै आर्थि प्रस्ताव खोल्ने जानकारी दिएको हो । ग्यालेरी बैठकको रेट्रोफिटिङका लागि असोज १ गते बोलपत्र आह्वान गरिएको थियो ।

कार्यालयकाअनुसार विद्युतीय बोलपत्रमार्फत परेका ५ प्रस्तावमध्ये चार बोलपत्रलाई छनोट गरि आर्थिक प्रस्ताव खोल्न लागिएको हो । छनोटमा परेका चार कम्पनीहरुमा बानेश्वरको लामा कन्स्ट्रक्सन, ललितपुरको प्रेरा निर्माण सेवा प्रालि, काठमाडौंको एएनके कन्सट्रक्सन कम्पनी प्रा.लि र ललितपुरको न्यु टेक्निकल इन्फ्रा प्रालि रहेका छन् ।

आर्थिक प्रस्ताव बबरमहलमा रहेको विशेष भवन निर्माण आयोजना समन्वय कार्यालयमा नै माघ ५ गते खोलिने कार्यालयले जनाएको छ ।

विसं २०७२ को भूकम्पबाट क्षतिग्रस्त बनेको उक्त भवन भत्काएर नयाँ बनाउने कि सवलीकरण गर्ने भन्ने सन्दर्भमा लामो बहस र छलफल भएको थियो । पछिल्ला केही वर्ष भवनको छानोबाट पानी चुहिएर भत्कने सम्भावना बढदै गएपछि प्लास्टिकले छोपेर राखिएको थियो । विसं २०१६ बाट प्रारम्भ भएको नेपालको संसदीय इतिहास त्यहीँ भवनबाट सुरु भएको हो।


क्लिकमान्डु