चालु आर्थिक वर्षको पहिलो त्रैमासमा आर्थिक वृद्धि ३.२% , विद्युत क्षेत्रमा २१.९% को गिरावट



काठमाडौं । राष्ट्रिय तथ्यांक कार्यालयले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३.२ प्रतिशतले आर्थिक वृद्धि भएको जनाएको छ ।

कार्यालयले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा अघिल्लो वर्षको सोधी अवधिको तुलनामा कुल गार्हस्थ उत्पादन स्थिर आधारभूत मूल्यमा ३.२ प्रतिशतले वृद्धि हुने अनुमान सार्वजनिक छ । चालु आर्थिक वर्षमा सरकारले ६ प्रतिशतले आर्थिक वृद्धि गर्ने लक्ष्य निर्धारण गरेको थियो ।

राष्ट्रिय तथ्यांक कार्यालयको पहिलो त्रैमासको तथ्यांक हेर्दा चालु आर्थिक वर्षमा लक्ष्य अनुसार आर्थिक वृद्धि गर्न कठिन हुने देखिएको छ ।

अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासमा र चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बीच तुलना गर्दा सबैभन्दा बढी खानी तथा उत्खननको कुल मूल्य १५.८ प्रतिशतले बढ्ने कार्यालयको अनुमान छ । निर्माण क्षेत्रसँग प्रत्यक्ष आधारित हुने वालुवा गिट्टी तथा ढुंगाको उत्खननको कुल मूल्य अभिवृद्धि तुलनात्मकरुपमा थोरै भएकोले निर्माण क्षेत्रको ११.४ प्रतिशतको वृद्धिले यस क्षेत्रको उत्पादनमा बढी प्रभाव पारेको देखिन्छ ।

दोस्रोमा वित्तीय तथा बीमा क्षेत्रको कुल मूल्य अभिवृद्धि १३.२ प्रतिशतले हुने प्रारम्भिक अनुमान छ । निक्षेप तथा कर्जामा भएको वृद्धि, अन्तर बैंक ब्याजदरमा भएको परिवर्तन, बढ्दो वीमा प्रिमियम आदि कारणले यस क्षेत्रको वृद्धिदरमा सकारात्मक प्रभाव पारेको कार्यालयले जनाएको छ ।

यसैगरी यस अवधिमा आवास तथा भोजन सेवा क्षेत्रमा ११.७ प्रतिशतले वृद्धि हुने प्रारम्भिक अनुमान छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा पर्यटकको आगमनमा भएको उल्लेख्य वृद्धिले यस क्षेत्रमा प्रत्यक्षरुपमा सकरात्मक असर परेको देखिन्छ ।

त्यसैगरी यस अवधिमा अर्थतन्त्रमा सबै भन्दा बढी योगदान रहेको कृषि, वन तथा मत्स्य क्षेत्रको वृद्धिदर १.४ प्रतिशत हुने कार्यालयको अनुमान छ । धानको उत्पादनमा भएको वृद्धिले यस क्षेत्रको वृद्धिदरमा सकारात्मक प्रभाव पारेको कार्यालयले जनाएको छ ।

थोक तथा खुद्रा ब्यापार क्षेत्रको कुल मूल्य अभिवृद्धिमा मात्र अघिल्लो वर्षको पहिलो त्रैमासिक अवधिको भन्दा चालु आर्थिक को पहिलो त्रैमासिक अवधिमा १.२ प्रतिशतले घट्ने कार्यालयको प्रारम्भिक अनुमान छ । समग्र आयातमा समान्य वृद्धि भए तापनि ब्यापार जन्य वस्तुहरूमा आएको कमीको कारणले यस क्षेत्रको वृद्धिदरमा कमी आएको हो ।

गत आर्थिक वर्षको चौथो त्रैमासको तुलनामा भने चालुआर्थिक वर्षको पहिलो त्रैमासमा आर्थिक वृद्धि १.४ प्रतिशतले घट्ने कार्यालयको अनुमान छ ।

मौसमी प्रभाव समायोजित त्रैमासिक कुल मूल्य अभिवृद्धिलाई हेर्दा गत आर्थिक वर्षको चौथो त्रैमासको अवधि ( वैशाख, जेठ र असार) भन्दा चालु आर्थिक वर्षको पहिलो त्रैमासको अवधि (साउन, भदौ र असोज) मा कुल १८ वटा आर्थिक क्रियाकलापहरु मध्ये १२ वटाको क्षेत्रमा आर्थिक गतिविधी बढ्दा ६ वटा क्षेत्रका उत्पादन घट्ने कार्यालयको अनुमान छ ।

यस अवधिमा पानी आपूर्ति क्षेत्रको कुल मूल्य अभिवृद्धिमा सबै भन्दा धेरै ७.३ प्रतिशतले बढ्ने कार्यालयको अनुमान छ । यसैगरी सोही अवधिमा मुख्यतः वित्तीय तथा बीमा क्षेत्र ६.७ प्रतिशत, सार्वजनिक प्रशासन ५.५ प्रतिशत र रक्षा, सूचना तथा संचार क्षेत्रमा सुधार आएर ३.८ प्रतिशतले बढोत्तरी हुने अनुमान छ ।

अर्कोतर्फ सोही अवधिमा विद्युतको उत्पादनमा कमी भएकोले विद्युत तथा ग्याँसको क्षेत्रको कुल मूल्य अभिवृद्धि २१.९ प्रतिशतले घट्ने प्रारम्भिक अनुमान गरिएको छ ।

यसै अवधिमा थोक तथा खुद्रा व्यापार, निर्माण ८.० प्रतिशत, खानी तथा उत्खनन, ५ प्रतिशत र उद्योग क्षेत्रको कुल मूल्य अभिवृद्धिमा ३.८ प्रतिशतले घट्ने कार्यालयको अनुमान छ ।


क्लिकमान्डु