सिबिफिनका अध्यक्ष पवन गोल्यानले दिए राजीनामा, उपेन्द्र पौडेल सर्वसम्मत अध्यक्ष



काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ (सिबिफिन) नेपालका अध्यक्ष पवनकुमार गोल्यानले पदबाट राजीनामा दिएका छन् । पुस २५ गते सम्पन्न सिबिफिन कार्यसमितिको १५औँ बैठकले उनको राजीनामा स्वीकृत गरेको हो ।

एनएमबि बैंकको साधारणसभाबाट बैंकको सञ्चालक समितिबाट अलग हुने भन्दै सिबिफनबाट पनि राजीनामा दिएको जनाएका छन् । उनी सिबिफिनका संस्थापक अध्यक्ष समेत हुन् ।

निवर्तमान अध्यक्ष गोल्यानको राजीनामासँगै रिक्त अध्यक्ष पदमा नबिल बैंकका अध्यक्ष तथा सिबिफिनको कार्यसमिति सदस्य उपेन्द्र पौडेललाई सर्वसम्मत अध्यक्ष चयन गरेको छ ।

अध्यक्षमा पौडेल विगत तीन दशकदेखि बैंकिङ क्षेत्रमा क्रियाशील छन् । सन् १९८६ मा स्ट्यान्डर्ड चार्टर्ड बैंकबाट बैंकिङ सेवामा प्रवेश गरेका पौडेलले एनएमबि बैंकको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी समेत निर्वाह गरेका छन् । एनएमबि बैंकको प्रमुख कार्यकारी अधिकृतबाट अवकाश लिए पश्चात उनी नबिल बैंकको सञ्चालक हुँदै अध्यक्षको जिम्मेवारीमा रहेका छन् ।

उनले त्रिभुवन विश्वविद्यालयबाट एमबिए गरेका छन् । बैंकिङसहित राष्ट्रिय एवं अन्तर्राष्ट्रियस्तरका विविध क्षेत्रमा उनले हासिल गरेको ज्ञान, अनुभव तथा दुरदर्शी नेतृत्व क्षमताबाट सिबिफिनले नयाँ उचाइँ प्राप्त गर्नुका साथै आर्थिक एवं बैंकिङ क्षेत्रमा देखिएका वर्तमान चुनौतीहरुको न्यूनिकरण र समग्र अर्थतन्त्रको सबलीकरणमा महत्वपूर्ण टेवा पुग्ने अपेक्षा गरिएको संस्थाले जनाएको छ ।


क्लिकमान्डु