चैतभित्र किसानलाई दुधको पैसा दिन कृषि मन्त्रीको निर्देशन



काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री डा. वेदुराम भुसालले चैतभित्र किसानले दुधको पैसा पाउने बताएका छन् । प्रतिनिधि सभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति बैठकमा बुधबार मन्त्री भुसालले चैतभित्र किसानको दुधको बक्यौता रकम भुक्तानी हुने बताएका हुन् ।

उनले दुध बेचेको करिब १७ करोड रुपैयाँ संस्थानमा नदेखिएकाले दुग्ध विकास संस्थान (डिडिसी) का महाप्रबन्धक सञ्जीव झालाई जिम्मेवारीबाट हटाएको पनि बताए ।

उनले संस्थानको ऋण बढाउने तर किसानको भुक्तानीसमेत नदिने प्रवृत्ति देखिएपछि जिम्मेवारीबाट हटाएको समितिलाई जानकारी गराए । ‘चैतभित्रमा किसानको दुधको पैसा भुक्तानी दिन निर्देशन दिएको छु,’ उनले भने, ‘अहिले डिडिसीको मात्रै नभएर निजी क्षेत्रबाट पनि किसानले ठूलो रकम भुक्तानी पाउन बाँकी छ ।’

धान उत्पादनका हिसाबले तराई मधेस महत्वपूर्ण भए पनि सिँचाइ सुविधा नभएकाले समस्या भएको उनले बताए । तराईमा पानीको मुहान सुक्दै गएकाले चुरेको फेदबाट पूर्वपश्चिम नहर बनाउन आवश्यक रहेको मन्त्री भुसालले विचार राखे ।

‘कृषि गणनाअनुसार ३० लाख ९१ हजार हेक्टर मध्येको १४ लाख ७७ हजार हेक्टर क्षेत्रफलमा धान खेती भएको देखाएको छ, यसको ६८ प्रतिशत हिस्सा तराईमा भए पनि १७ प्रतिशत क्षेत्रफलमा मात्रै सिँचाइ सुविधा पुगेको छ,’ उनले भने ।


क्लिकमान्डु