मागमा कमी आउँदा भूगर्भ सिमेन्टको व्यापार १४ प्रतिशतले घट्यो, सवा १ अर्बको कारोबार



काठमाडौं । बजारमा सिमेन्टको मागमा कमी आउँदा भूगर्भ सिमेन्टको व्यापार १४ प्रतिशतले घटेको छ । कम्पनीको व्यापार सन् २०२२ को तुलनामा सन् २०२३ मा १४ प्रतिशतले घटेको हो ।

सन् २०२२ मा १ अर्ब ४७ करोड ९० लाख रुपैयाँको कारोबार गरेको कम्पनीले सन् २०२३ मा १ अर्ब २६ करोड ४० लाख रुपैयाँको मात्र कारोबार गरेको छ । कम्पनीले सन् २०२१ मा १ अर्ब ४२ करोड १० लाख रुपैयाँको कारोबार गरेको थियो ।

सन् २०२३ मा कम्पनीको नाफा २.६१ प्रतिशतले घटेर ७.७ प्रतिशत कायम भएको उल्लेख छ । सन् २०२३ मा अर्थतन्त्रमा देखिएका समस्याका कारण पूर्वाधार क्षेत्रले गति लिन नसक्दा मागमा कमी आई व्यापारमा असर पुगेको कम्पनीको भनाइ छ ।

सन् २०१६ मा स्थापना भएको कम्पनी सन् २०२३ को जुनमा पब्लिक कम्पनीमा परिणत भएको छ ।

कम्पनीसँग दैनिक ३२ सय मेट्रिक टन सिमेन्ट उत्पादन गर्दै क्षमता छ । कम्पनीले पीपीसी र ओपीसी सिमेन्ट दैनिक ७ सय मेट्रिक टन उत्पादन गर्दै आएको छ । साथै, कम्पनीले दैनिक ३ सय मेट्रिक टन क्षमतामा क्लिङ्कर उत्पादन गर्दै आएको छ ।

इन्द्रबहादुर बानियाँ अध्यक्ष रहेको कम्पनीले अल्पकालीन तथा दीर्घकालीन कर्जाका लागि २ अर्ब २५ करोड रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि १ अर्ब ४७ करोड १६ लाख रुपैयाँ अर्थात् सिंगल बी र अल्पकालीन कर्जाका लागि ७७ करोड ८३ लाख रुपैयाँ अर्थात् एफोर रेटिङ पाएको छ ।

कम्पनीले क्लिङ्कर, फ्लाईएस, स्ल्याग, जिपसम आदिजस्ता कच्चा पदार्थ प्रयोग गरी सिमेन्ट उत्पादन गर्दै आएको छ । कम्पनीले दैनिक ३२ सय मेट्रिक टन क्षमतामा क्लिङ्कर उत्खनन् गर्ने प्रतिबद्धतासहित लाइसेन्स लिएको छ । कम्पनीले सन् २०२३ को अगस्टमा उक्त उद्योग सन् २०२३ को अगस्टमा विस्तार गरेको थियो ।


क्लिकमान्डु