‘बर्लिन पर्यटन मेला’मा सहभागिता जनाउँदै नेपाल, ३७ पर्यटन संस्थाको सहभागिता रहने
काठमाडौं । नेपालले फागुनको तेस्रो साता जर्मनीको बर्लिनमा आयोजना हुने विश्वकै ठूलो पर्यटन व्यापार मेला ‘आइटिबी’ मा सहभागिता जनाउने भएको छ ।
निजी क्षेत्रका पर्यटन व्यवसायीसँगको सहकार्यमा प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरले बार्लिनमा फागुन २२ देखि २४ सम्म हुने मेलामा सहभागिता जनाउने भएको हो । मेलामा नेपालको तर्फबाट ३७ पर्यटन संस्थाको सहभागिता रहने पाटा नेपाल च्याप्टरले जनाएको छ ।
पाटा नेपाल च्याप्टरका अध्यक्ष विभूतिचन्द ठाकुरका अनुसार अन्तर्राष्ट्रिय बजारीकरणका लागि आइटिबी, डब्लुटिएम जस्ता कार्यक्रम अपरिहार्य रहेको र नेपालको उपस्थिति छुटाउन नहुने भएकाले सदस्य संस्था तथा पर्यटन उद्योगका सरोकारवाला संस्थाको मागबमोजिम मेलामा सहभागिता जनाउन लागिएको हो ।
कोरा टुरका प्रबन्ध निर्देशक विजय अमात्यले नेपालको पर्यटन प्रवर्धनको प्रभावकारी बजारीकरण गर्ने उपयुक्त थलो अन्तर्राष्ट्रिय पर्यटनमेला भएकाले नेपाल गन्तव्यको प्रवर्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।
‘देशको पर्यटनलाई अगाडि बढाउने महत्वपूर्ण विषय भनेको देशको ‘भिजिबिलिटी’ हो । विश्वका पर्यटकलाई नेपाल चिनाउने मुख्य आधार पनि मेला भएकाले नेपाल पर्यटन बोर्डलगायत निजी क्षेत्रका व्यवसायी सरोकारवालाका लागि यस्ता फोरम उपयुक्त माध्यम बन्छन् । त्यसैले नेपालको सक्रिय र प्रभावकारी सहभागिता जनाउनैपर्छ,’ उनले भने ।
मेलामा विश्वभरका होटल, टुरिज्म बोर्ड, टुर अपरेटर, सेवा प्रदायक, एयरलाइन्सलगायत कम्पनी सहभागी हुनेछन् । बर्लिनमा मार्चमा वार्षिक रुपमा मेला हुँदै आएको छ । राष्ट्रिय र अन्तर्राष्ट्रिय पर्यटन प्रवर्धन र बजारीकरणमा सक्रिय पाटाले गत जुनमा हिमालयन ट्राभल मार्टको चौथो संस्करण सम्पन्न गरेको थियो । विगत वर्षमा नेपाल पर्यटन बोर्डले आइटिबीलगायत अन्तर्राष्ट्रिय मेलामा सहभागिता जनाउँदै आएको थियो ।
पाटा नेपाल च्याप्टरको स्थापनाकालदेखि नै आइटिबी, विश्व पर्यटन मेला ‘डब्लुटिएम’लगायत अन्तर्राष्ट्रिय पर्यटन व्यापार मेलामा सरकारकोतर्फबाट र निजी क्षेत्रका पर्यटन व्यवसायीसँगको समन्वयमा आयोजना गर्नेगर्दथ्यो । नेपाल पर्यटन बोर्डको स्थापना भएपछि बोर्डले सार्वजनिक निजी साझेदारी संस्थाको रुपमा अन्तर्राष्ट्रिय पर्यटन मेलामा हरेक वर्ष सहभागिता जनाउने गरेको थियो ।
चालु आर्थिक वर्षमा बोर्डले कुनैपनि अन्तर्राष्ट्रिय मेलामा सहभागिता जनाएको छैन । नेपाल पर्यटन बोर्ड, विदेशमा कार्यक्रम सञ्चालन तथा खरिदसम्बन्धी कार्यविधि, २०७८ पारित नहुँदा अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागिता जनाउन नसकिएको बोर्डले जनाएको छ ।
गत असोज ६ गते बोर्डको कार्यकारी समितिबाट पारित बोर्डको आव २०८०/८१ को बजेट तथा कार्यक्रमको निर्देशनमा सार्वजनिक खरिद कार्यालयबाट सहमति प्राप्त गरेरमात्र अन्तर्राष्ट्रिय कार्यक्रम कार्यान्वयन गर्ने/गराउने निर्देशन भएको बोर्डले उल्लेख गरेको छ । बोर्डका पदाधिकारी र सार्वजनिक खरिद अनुगमन कार्यालयबीच पटक-पटक छलफल भए पनि अझै टुङ्गो लाग्न सकेको छैन ।