हवाई प्रतिबन्ध खुला गर्न पहल गरिदिन जेरि बट्टिमरलाई राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाको आग्रह



काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र आयरल्याण्डको माथिल्लो सभा शाअनड एरेनका अध्यक्ष जेरि बट्टिमर बिच आज(सोमबार) भेटवार्ता भएको छ ।

नेपालको पाँच दिने भ्रमणमा आएका अध्यक्ष बट्टिमरले सिंहदरबारस्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा भेटवार्ता गरे ।
भेटवार्ताका क्रममा अध्यक्ष तिमिल्सिनाले युरोपिएन युनियनले नेपाल माथि लगाएको हवाई प्रतिबन्ध खुल्ला गरिदिन आग्रह गरे ।

उनले हवाई प्रतिबन्धका कारण नेपालको अर्थतन्त्र र पर्यटनमा नकारात्मक असर परेको बताउँदै आयरल्याण्ड इयुको सक्रिय सदस्य भएका कारण नेपाली विमानमाथि युरोपेली आकाशमा लागेको प्रतिबन्ध हटाउन सकारात्मक पहल र परिणाम आउने कुरामा बिश्वस्त रहेको बताए ।

उनले आयरल्याण्डमा नेपाली बिद्यार्थीका लागि छात्रबृत्ति बढाउन आग्रह गर्दै त्यसबाट उत्पादित दक्ष जनशक्तिलाई नेपालको बिकास र सम्बृद्धिमा लगाउन सकिने बिश्वास पनि ब्यक्त गए ।

भेटवार्ताका क्रममा आयरल्याण्डका माथिल्लो सदनका अध्यक्ष बुटिमेरले आफु नेपाल भ्रमणबाट फर्केपछि हवाई प्रतिबन्ध हटाउने बिषयमा संवाद र छलफल अगाडि बढाउने बिश्वास दिलाए ।

उनले अघिदेखि नै नेपालले हवाई उड्डयनमा सुधारका लागि गरिरहेको सकारात्मक पहलका बारेमा पुर्ण जानकार रहेको बताए । उनले दुई देशबीचको सम्बन्धलाई सुमधुर बनाउन संसद र सांसदहरुको महत्त्वपूर्ण भूमिका रहने बताउँदै भ्रमणबाट एक अर्काको संसदीय अभ्यास र अनुभव बुझ्ने अवसर उपलब्ध हुने बिश्वास ब्यक्त गरे । ‘यसबाट संसदीय लोकतन्त्रलाई सुदृढ बनाउँदै हाम्रा नागरिकको अधिकार सुनिश्चित गर्न सघाउ पुग्ने छ’ उनले भने ।

नेपाल सन् २०२६ सम्म अतिकम विकसित मुलुकबाट स्तरोन्नति भई सन् २०३० सम्ममा मध्यम आय भएको मुलुक बन्ने नेपाल सरकारको उद्देश्य रहेको उल्लेख गर्दै अध्यक्ष तिमिल्सिनाले उक्त स्तरोन्नतिलाई दिगो, अपरिवर्तनीय तथा सहज बनाउनको लागि ठूलो साधन तथा श्रोतको आवश्यकता पर्ने बताए ।

यसका लागि युरोपेली संघ लगायत अन्तर्राष्ट्रिय समुदायको सहयोगको खाँचो औल्याए । उनले व्यापार, लगानी तथा पर्यटनका क्षेत्रमा हाम्रा दुई देशले साझेदारी विस्तार गर्दै लैजानु पर्ने आवश्यकतामा पनि जोड दिए ।

उक्त भेटमा आयरल्याण्डको उपल्लो सदनका अध्यक्ष बट्टिमोरले नेपाल र आयरल्याण्ड दुबै देशले साझा मुद्दाहरुमा आगामी दिनमा सहकार्य गर्दै अघि बढ्ने बिश्वास ब्यक्त गर्दै आगामी दिनमा साझा सहकार्य बढाउने प्रतिबद्धता पनि जनाए ।

नेपालमा हिमाल आरोहण र पदयात्राका लागि आयरल्याण्डका धेरै नागरिक इच्छुक रहँदै आएको बताउँदै आगामी दिनमा पर्यटकलाई नेपाल भ्रमणका लागि उत्प्रेरित गर्न आवश्यक रहेको बताए ।


क्लिकमान्डु