नीतिगत र व्यावहारिक सहजता हुने हो भने अर्थतन्त्र सुधार हुन समय लाग्दैनः अध्यक्ष ढकाल



काठमाडौ‌ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नीतिगत र व्यावहारिक सहजता हुने हो भने अर्थतन्त्र सुधार हुन समय नलाग्ने बताएका छन् ।

कोहलपुर उद्योग वाणिज्य संघको १०औं वार्षिक साधारणसभा तथा २५औं स्थापना दिवस कार्यक्रमलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै अध्यक्ष ढकालले अर्थतन्त्र सुधारका लागि सरकारसँग आफुहरुले निरन्तर पहल गरेको जानकारी गराए ।

‘पछिल्लो पटक उद्योग व्यवसायका क्षेत्रमा विविध समस्या छन् । साना ठूला सबै तहका उद्योग व्यवसायका लागि विविध खालका चुनौती छन्’ उनले भने ‘उद्योग व्यवसाय गर्ने वातावरण बनाउन हामीले सरकारलाई पनि बारम्बार आग्रह गर्दै आएका छौं, विज्ञ लगाएर सुुझाव तयार गरी बुझाएका पनि छौं । ती कुराहरू कार्यन्वयन हुनु पर्‍यो ।’

पछिल्लो समय ट्रङ तथा डेडिकेटेड लाइनको महशुल विवादले उद्योगीहरु समस्यामा परेको बताए । ‘उद्योगहरुको डेडिकेटेड र टंकलाइनको पुरानो विवाद समाधान नहुँदै लाइन काटिएको छ’ उनले भने ‘यसले औद्योगिक वातावरण विगार्छ । यसको समाधानका तत्काल एक उच्चस्तरिय आयोग वा संयन्त्रको माग गरेका छौ । यो समस्या कुनै एक निकायले समाधान गर्न सक्दैन ।’

उनले निजी क्षेत्र सम्मिलित आयोग बनाई त्यसबाट समाधान निकाल्नुपर्ने बताए । ‘यसरी काटिएको लाइन जोड्न र थप नकाटन म आग्रह गर्दछु’ उनले भने ‘यसले रोजगारी र राजश्वमा असर गरेको छ । मन्दीमा रहेको अर्थतन्त्रलाई थप प्रभावित बनाएको छ ।’

मुलुकभरिकै व्यापार व्यवसायलाई मुलुकको समग्र अर्थतन्त्रले प्रभावित पारेको उनको भनाइ छ । बाह्य क्षेत्र सकारात्मक भएपनि मुलुक भित्र माग सिर्जना हुन सकेको छैन् । यो विगतमा हामीले एकपछि अर्को गर्दै गरेको नीतिगत निर्णयका कारण भएको बताए । ‘मुलुकमा भविष्य नदेखेर युवाहरु पलायन भइरहेका छन् । रेमिट्यान्स त आएको छ तर उपभोग बढेको छैन्’ उनले भने ‘हामीले यो समस्या हुँदैछ भनेर शुरुमै सरकारको ध्यानाकर्षण गराएका थियौ । तर समाधानमा ध्यान पुगेन् ।’


क्लिकमान्डु