बीमितको रोजाइमा पर्छन् यी तीन प्रकारका बीमालेख, कुनको बिक्री कति ?



काठमाडौं । जीवन बीमाका बीमितले ९ प्रकारका बीमालेख मध्ये तीनवटा बीमालेख सबैभन्दा धेरै खरिद गर्ने गरेको पाइएको छ । १४ वटा जीवन बीमा कम्पनीले ९ प्रकारका बीमालेख बिक्री गर्दै आए पनि बीमितको रोजाईमा भने तीनवटा बिमालेख पर्दै आएका हुन् ।

मंसिरसम्म सक्रिय रहेको जीवन बीमालेखको आधारमा हेर्ने हो भने बीमित रोजाइमा सबैभन्दा धेरै म्यादी जीवन बीमालेख परेको देखिन्छ । प्राधिकरणका अनुसार मंसिरसम्म म्यादी जीवन बीमातर्फ ४० लाख वटा बीमालेख सक्रिय छन् । यो बीमालेख बागमती प्रदेशमामात्रै १० लाख वटा जारी भएको छ ।

यो बाहेक बीमितको रोजाइको दोस्रोमा लघु जीवन बीमा र तेस्रोमा सावधिक जीवन बीमा पर्ने गरेका छन् ।

प्राधिकरणका अनुसार लघु जीवन बीमातर्फ ३५ लाख ५१ हजार वटा बीमालेख सक्रिय छन् । रोजाइका आधारमा तेस्रोमा रहेका सावधिक जीवन बीमामा भने २१ लाखवटा बीमालेख सक्रिय रहेका छन् ।

कुल १ अर्ब ३७ लाख जीवन बीमालेख सक्रिय रहँदा यी तीन बीमालेखको संख्या उल्लेख्य रहेको हो । यो बाहेक वैदेशिक रोजगार बीमालेख चौथो नम्बरमा आएको छ ।

मंसिरसम्म बीमितले खरिद गरेका मध्ये १८ लाख ६६ हजार वटा बीमालेख बैदेशिक रोजगार बीमालेख रहेका छन् । तर यो बीमालेख भने अन्य बीमालेख जस्तो सातवटै प्रदेशमा जारी भएका छैनन् । बागमती प्रदेशमा मात्रै वैदेशिक रोजगार बीमालेख ठूलो संख्या सक्रिय तथ्यांकले देखाएको हो ।

यी बाहेक अग्रिम भुक्तानी सावधिक जीवन बीमातर्फ ४ लाख ५० हजार ,रुपान्तरित सावधिक जीवन बीमातर्फ ५ लाख ३१ हजार,बालबच्चा सम्बन्धी सावधिक जीवन बीमातर्फ ९ लाख ६२ हजार वटा बीमालेख सक्रिय रहेका हुन् ।

बीमितको रोजाइमा खासै नपर्नेमा भने एकल बीमा शुल्क जीवन बीमा देखिन्छ । यो बीमामा ६४ हजार ८ सय ४४ वटामात्रै बीमालेख सक्रिय रहेका छन् ।


क्लिकमान्डु