साढे ७९ करोडमा तयार भयो सरोवर एग्रो उद्योग, सञ्चालन गर्न १ अर्ब १० करोड ऋण लिँदै



काठमाडौं । धान प्रशोधनका लागि रुपन्देहीमा साढे ७९ करोड लगानीमा सरोवर एग्रो इन्डष्ट्रिज निर्माण भएको छ । दैनिक १२ घण्टामा ४० हजार ६४० मेट्रिक टन धान प्रशोधन गर्ने गरी नयाँ उद्योग निर्माण भएको हो ।

सन् २०२० मा धान प्रशोधन गरी चामल उत्पादन गर्ने गरी निर्माण भएको उद्योग सन् २०२४ को मार्चदेखि सञ्चालनमा ल्याउने तयारी गरेको छ ।

कम्पनीले ५९ करोड ६० लाख रुपैयाँ बैंकबाट कर्जा लिई उद्योग निर्माण गरेको थियो । त्यस्तै, १९ करोड ९० लाख रुपैयाँ कम्पनीले लगानी गरेको थियो । हालसम्ममा कम्पनीको निर्माण कार्य सम्पन्न भइसकेको छ । तर, अन्य कामहरु बाँकी भएकाले उक्त कार्यहरु भइरहेको कम्पनीले जनाएको छ । कम्पनीले भारतबाट मेसिन आयात गरेर उद्योग तयार गरेको हो ।

निर्माण कार्य सम्पन्न भएको उद्योगले सञ्चालनका लागि दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि १ अर्ब १० करोड रुपैयाँको रेटिङ गराएको छ । सौदागरप्रसाद जैसवाल अध्यक्ष रहेको कम्पनीले दीर्घकालीन कर्जाका लागि ५४ करोड रुपैयाँ र अल्पकालीन कर्जाका लागि ५६ करोड रुपैयाँको रेटिङ गराएको छ ।


क्लिकमान्डु