मंसिरमा जीवन बीमा कम्पनीले संकलन गरे १२ अर्ब प्रिमियम, प्रथम बीमा शुल्क कति ?



काठमाडौं । मंसिर महिनामा जीवन बीमा कम्पनीले बीमा शुल्कबापत १२ अर्ब ३१ करोड ६८ लाख रुपैयाँ संकलन गरेका छन् । १४ वटा जीवन कम्पनीले प्रथम बीमा शुल्क र नवीकरण शुल्कबाट उक्त रकम संकलन गरेका हुन् ।

एक महिनामा ४ लाख ३३ हजार ६ सय १८ वटा बीमालेख जारी हुँदा बीमा कम्पनीले २ अर्ब ३४ करोड ९५ लाख रुपैयाँ प्रथम बीमा शुल्कको रुपमा रकम संकलन गरेका छन् भने नविकरणबाट ९ अर्ब ९६ करोड रुपैयाँ संकलन गरेका हुन् ।

असोज महिनामा बीमा कम्पनीहरुले प्रथम बीमा शुल्कबाट १ अर्ब ९० करोड रुपैयाँ र नवीकरणबाट ६ अर्ब ७३ करोड रुपैयाँ गरी कुल ८ अर्ब ६३ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेका थिए । कात्तिक महिनाको तुलनामा मंसिरमा बीमा कम्पनीले ३ अर्ब ६८ करोड रुपैयाँ बढी बीमा शुल्क संकलन गरेका हुन् ।

मंसिर महिनामा नवीकरण शुल्क संकलन मात्रै नभएर प्रथम बीमा शुल्क संकलन पनि बढेको छ । कात्तिकमा प्रथम बीमाशुल्कबाट १ अर्ब ९० करोड संकलन गरेकोमा मंसिरमा बीमा कम्पनीले २ अर्ब ३४ करोड रुपैयाँ संकलन गरेका छन् ।

यस्तै मंसिरमा सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेसनले बीमा शुल्क संकलन गरेको छ । यो कम्पनीले ४७ करोड ५९ लाख रुपैयाँ प्रथम बीमा शुल्कबाट संकलन गरेको हो । त्यस्तै दोस्रोमा नेशनल लाइफ इन्स्योरेन्स र तेस्रोमा हिमालयन लाइफ इन्स्योरेन्स छन् । यी कम्पनीले क्रमश ३६ करोड ११ लाख र १८ करोड ५० लाख रुपैयाँ प्रथम बीमा शुल्कबाट संकलन गरेका हुन् ।

समग्रमा मंसिर महिनासम्म १४ वटा बीमा कम्पनीले ६१ अर्ब ७४ करोड ७१ लाख रुपैयाँ बीमितबाट संकलन गरेका छन् । आर्थिक बर्षको पाँच महिनामा बीमा कम्पनीले १० अर्ब ९७ करोड रुपैयाँ प्रथम बीमा शुल्क बापत संकलन गर्दा नवीकरणबाट ५० अर्ब ७७ करोड रुपैयाँ संकलन गरेका हुन् ।


क्लिकमान्डु