निरन्तर निक्षेप संकलन गर्दा अन्तर बैंक ब्याज बढ्यो, ३ प्रतिशत ब्याजमा राष्ट्र बैंकमा पैसा राख्ने घट्दै



काठमाडौं । नेपाल राष्ट्र बैंकले निरन्तर निक्षेप संकलन गर्दा अन्तर बैंक ब्याजदर बढ्न थालेको छ ।

अन्तर बैंक ब्याजदर १ प्रतिशतभन्दा तल झरेपछि राष्ट्र बैंकले मंसिर ६ गतेदेखि बोलकबोल विधिबाट बजारमा भएको निक्षेप संकलन गर्न सुरु गरेको थियो ।

राष्ट्र बैंकले निरन्तर निक्षेप संकलन गर्दा अन्तर बैंक ब्याजदर बढ्नुको साथै निक्षेप संकलन दरमा राष्ट्र बैंकमा पैसा राख्ने बैंकहरुको संस्था घट्न थालेको छ ।

मंसिर ६ गते राष्ट्र बैंकले बजारबाट १० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने प्रस्ताव आह्वान गर्दा बैंकहरुले ३७ करोड रुपैयाँ राख्ने प्रस्ताव पेस गरेका थिए ।

मंसिर ६ गते राष्ट्र बैंकले १.६ प्रतिशतदेखि २.१७ प्रतिशतसम्म ब्याज दिँदै १० अर्ब रुपैयाँ निक्षेप संकलन गरेको थियो ।
राष्ट्र बैंकले मंसिर १२ गते फेरि १० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने प्रस्ताव आह्वान गर्दा बैंकहरुले ३९ करोड ६० करोड रुपैयाँ निक्षेप राख्ने प्रस्ताव पेस गरेका थिए ।

राष्ट्र बैंक कम ब्याजदरमा निक्षेप राख्न तयार हुने बैंकबाट १० अर्ब रुपैयाँ निक्षेप राख्दै १.२४ प्रतिशत देखि १.१० प्रतिशतसम्म ब्याज दिएको थियो ।

मंसिर १४ गते १५ अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने प्रस्ताव आह्वान हुँदा ४० अर्ब १० करोड रुपैयाँ निक्षेप राख्ने प्रस्ताव पेस भएको थियो । त्यसदिन राष्ट्र बैंकले १.१६ प्रतिशतदेखि ०.९९ प्रतिशत ब्याज माग्नेको निक्षेप राखेको थियो । मंसिर २१ गते बैंकहरु ०.४९ प्रतिशत ब्याजदरमा राष्ट्र बैंकमा निक्षेप राख्न तयार भएका थिए ।

तर, पछिल्लो समय राष्ट्र बैंकमा निक्षेप राख्नेको संख्या घट्न थालेको छ । ब्याजदर करिडोरको सिद्धान्तअनुसार निक्षेप संकलन दरभन्दा अन्तर बैंक ब्याजदर कम भएको अवस्थामा बजारबाट निक्षेप संकलन गर्नु पर्ने र बैंक दरभन्दा अन्तर बैंक ब्याजदर बढी भएको अवस्थामा बजारमा रिपोदरमा पैसा पठाउनु पर्छ ।

पुस १६ गते अन्तर बैंक ब्याजदर २.८ प्रतिशत भएपछि राष्ट्र बैंकले पुस १८ गते बोलकबोल विधिबाट १४ दिन अवधिको २५ अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने प्रस्ताव आह्वान गरेको थियो । तर, बैंकहरुले १९ अर्ब ९० करोड रुपैयाँ मात्रै राष्ट्र बैंकमा राख्ने प्रस्ताव पेस गरेका थिए ।

बैंकहरुले ३ प्रतिशतभन्दा बढी ब्याज मागेपछि राष्ट्र बैंकले १४ अर्ब ७० करोड रुपैयाँ मात्रै संकलन गरेको छ । बुधबार राष्ट्र बैंकले औषतमा ३ प्रतिशत ब्याज दिने र २.५९ देखि ३.११ प्रतिशत ब्याज माग गर्ने बैंकहरुको निक्षेप संकलन गर्ने निर्णय गरेको थियो ।

राष्ट्र बैंकले मंसिर २८ गतेयता ३ प्रतिशत कट अफ रेट निर्धारण गर्दै बजारबाट निक्षेप संकलन गरिरहेको छ । अन्तर बैंक ब्याजदर ३ प्रतिशत भन्दा माथि नभएकाले बिहीबारसमेत राष्ट्र २१ दिन अवधिको २० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने प्रस्ताव आह्वान गरेको छ ।

राष्ट्र बैंकले मंसिरयता १७ पटक निक्षेप संकलन गरिरहेको छ । विगतमा ७ र १४ दिन अवधिको निक्षेप संकलन गरिरहेको केन्द्रीय बैंकले बिहीबार पहिलोपटक २१ दिन अवधिका लागि निक्षेप संकलन गर्न थालेको हो ।

अन्तर बैंक ब्याजदर न्यून हुँदा बैंकहरुले आगामी दिनमा थप ब्याजदर घटाउँदै बैंक दरभन्दा मुद्दती खाताको ब्याज कम हुने जोखिम भएकाले राष्ट्र बैंकले निक्षेप संकलनलाई जोड दिएको हो ।


क्लिकमान्डु