सेयर बजार सुधार हुँदैछ, ब्याजदर पनि घट्दै छ: अर्थमन्त्री



विराटनगर । अर्थमन्त्री डा. प्रकाशशरण महतले उद्योगी व्यवसायीको समस्या समाधान र अप्ठ्यारा फुकाउन अर्थ मन्त्रालयको ढोका संधैं खुला रहेको बताएका छन् ।

मोरङ ब्यापार संघ एक्स्पोको समापन सभालाई सम्बोधन गर्दै मन्त्री डा. महतले भने, ‘उद्योगी, व्यवसायीका समस्या लिखित पठाउनुस् वा प्रत्यक्ष भेट्नुस् छलफलबाट समस्या हटाउँ । नेपालमै उद्योग व्यवसायको माहोल बढाउँ रोजगारी यही सिर्जना गरौं।’

‘विदेशबाट फर्केर आएका युवाहरुले पूँजी र सिप लिएर आएका छन्, उनीहरु आधुनिक कृषिकर्म गर्दैछन्,’ उनले भने, यसलाई प्रोत्साहन गर्ने, उत्पादनमा आधारित सहयोग सुनिश्चित गर्ने नीति सरकारले लिएको छ । यसले कृषि क्षेत्र आधुनिकीकरण हुन्छ र उत्पादन बढ्छ । उद्योग व्यावसायीले कृषि क्षेत्रलाई पनि प्राथमिकतामा राख्न म अनुरोध गर्दछु ।’

अर्थतन्त्र समस्यामा थियो, अझै पनि केही समस्या छ भन्दै उनले आउँदा दिनमा सकारात्मक संकेतहरु देखिने र आर्थिक वृद्धि हुने बताए । ‘अहिले जति पनि तथ्यांकहरु छन्, यी तथ्यांकले अहिलेको मैले भनेका कुराको पुष्टि गर्छ,’ उनले भने, ‘हामीले आर्थिक वृद्धिदर साढे ६ प्रतिशत ल्याउने बजेटमार्फत् घोषणा गरेका थियौं, अहिले ५ दशमलब ३८ मा मूल्यवृद्धि झरेको छ । छिमेकी मुलुकमा मूल्यवृद्धि घटेकाले त्यसले पनि हामीलाई सहयोग पुगेको छ ।’

सेयर कारोबार १८ सयमा झरेको थियो तर अहिले बढ्दै छ भन्दै उनले जग्गा कारोबारले पनि केही गति समातेको बैंकहरुले ब्याजदर घटाउँदै लगेको जसले गर्दा ऋण प्रवाहमा वृद्धि भएको र आउँदा दिनमा अझ वृद्धि हुने पनि जानकारी दिए ।
पर्यटक आगमन अहिलेसम्मकै उच्च भएको पनि उनले दाबी गरे।

पूर्वाधारमा ठूलै समस्या रहेको, पूर्वाधार र सडकको राम्रो व्यवस्था नभएकाले सम्भावित पर्यटकीय क्षेत्र उपयोग गर्न सकेको उनको भनाइ थियो । आउँदा दिनमा त्यस्ता परियोजनालाई प्राथमिकतामा राखेर बजेट विनियोजन गर्ने उनले बताए ।

‘त्यसैगरी रेमिट्यान्स ३० प्रतिशतसम्म वृद्धि भयो । यो पूँजी प्रवाह हाम्रै अर्थतन्त्रमा भएको छ । त्यसले हाम्रो अर्थतन्त्रलाई चलायमान बनाउने कुरामा दुई मत छैन । हाम्रो सञ्चितिले एक वर्ष पुग्छ । सबै सूचक सकरात्मक भएको अवस्थामा लक्ष्य गरेको आर्थिक वृद्धिमा हामी पुग्न सक्छौं,’ उनले भने ।

अहिलेको आवश्यकता भनेको आत्मविश्वास रहेको भन्दै उनले यो देशमा भविष्य छैन भन्ने नकरात्मक प्रचारले आत्मविश्वास कम भएको बताए । अर्थतन्त्रको सबै सूचकहरु सकारात्मक भएको अवस्थामा उद्योग व्यवसायी, नागरिक समाज र सञ्चारकर्मीलाई सकारात्मक बहसको थालनी गर्न पनि उनले अनुरोध गरे ।

आउँदो बजेटमा अझ सुधार गरेर नेपाली उद्योग व्यवसायलाई संरक्षण गर्ने नीति लिइने मन्त्री डा. महतको भनाइ छ । ‘खुला सीमा भएकाले अझ धेरै समस्या छन्, चुहावट कम गर्ने प्रयास भइरहेको छ,’ उनले भने ।


क्लिकमान्डु