किस्ट मेडिकल कलेजले एकै वर्ष गर्यो ७९ करोडको व्यापार
काठमाडौं । किस्ट मेडिकल कलेजले एकै वर्ष करिब ७९ करोडको व्यापार गरेको छ । कम्पनीले सन् २०२३ मा ७८ करोड ९० लाख (अपरिष्कृत)को व्यापार गरेको हो ।
मेडिकल कलेजले सन् २०२२ मा ६८ करोड ८० लाख रुपैयाँ, सन् २०२१ मा ५१ करोड ७० लाख रुपैयाँ, सन् २०२० मा ५२ करोड ४० लाख रुपैयाँ र सन् २०१९ मा ५० करोड ६० लाख रुपैयाँ व्यापार गरेको थियो ।
किस्टले कलेजसँगै ३ सय शय्या सुविधाको अस्पताल सञ्चालन गर्दै आएको छ । जसमा ४७ प्रतिशत मेडिकल कलेजको सेग्मेन्ट र ५१ प्रतिशत व्यापार हस्पिटल क्षेत्रबाट आम्दानी भएको छ । सन् २०२२ मा कलेजबाट ५२ प्रतिशत र अस्पतालबाट ४६ प्रतिशत आम्दानी गरेको थियो ।
सन् २०२३ मा २९ प्रतिशतले बिरामीको संख्या बढ्दा आम्दानी बढेको किस्टले जनाएको छ । अस्पतालले सन् २०२३ मा २ लाख ३० हजार जनालाई सेवा दिएको थियो ।
सन् २०२३ मा किस्टले ३२ प्रतिशत नाफा कमाएको छ । अस्पतालले बिरामीलाई सेवा दिनुका साथै एमबीबीएस, बीडीएस, पीजी, बी फर्मा, बीएस–एमएलटीको कोर्सको सेवा दिँदै आएको छ ।
आशिष थापा अध्यक्ष रहेको अस्पतालले डेढ करोड रुपैयाँ अल्पकालीन तथा दीर्घकालीन कर्जा लिएको छ । अस्पतालले दीर्घकालीन कर्जाका लागि ९६ करोड १५ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि ५३ करोड ८५ लाख रुपैयाँको रेटिङ गराएको छ ।