२०२३ मा प्रविधि क्षेत्रः चर्चामा एआई



काठमाडौं । २०२३ मा प्रविधि क्षेत्रमा थुप्रै क्रान्तिकारी विकासहरु भएका छन् । धेरैको विचारमा २०२३ मा प्रविधि क्षेत्रमा कैयौं किसिमका ब्रेकथ्रुहरु भएका छन् । मुख्यतः जेनेरेटिभ आर्टिफिसियल इन्टिलिजेन्स (एआई)ले यो वर्ष निकै चर्चा र सार्वजनिक रुपमा नै उपलब्धता कमाएको छ ।

कतिपय अवस्थामा विभिन्न किसिमका एआई उपकरणहरुको विकासका कारण त कतिपय अवस्थमा ओपन एआईजस्तो विश्व चर्चित एआई च्याटजीपीटीको मुल कम्पनीमा भएको कर्मचारी हेरफेरको घटनाका कारण, यो वर्ष प्रविधि क्षेत्रमा मुख्य रुपमा हाबी एआई नै भएको छ ।

एआईसँगसँगै स्टार्टअप कम्पनीहरु, त्यसमा पनि मुख्यतः प्रविधि क्षेत्रका स्टार्टअपहरुलाई सहायता दिने सिलिकन भ्याल्ली बैंक टाँट पल्टिनु, भर्चुअल रियालिटी (भीआर)को क्षेत्रमा भएका विकासलगायतले यो वर्षको प्रविधि क्षेत्रलाई भरिपूर्ण बनाएको छ ।

यो लेखमा सन् २०२३ मा चर्चामा रहेका यस्तै प्रविधि क्षेत्रका नयाँ ट्रेडहरुको चर्चा गरिएको छ, जसले यो वर्षभरि नै समाचारमा हेडलाइन बनाएका छन् ।

प्रविधि क्षेत्रमा यो वर्ष सबैभन्दा धेरै चर्चामा रहेको कुरा हो, आर्टिफिसियल इन्टिलिजेन्स वा एआई । विश्वभरमा नै यो वर्ष विभिन्न किसिमका एआईहरुले चर्चा कमाए । र यो सबैको सुरुवात च्याटजीपीटीबाट भएको थियो ।

सन् २०२२ को नोमेम्बरमा प्रारम्भिक रुपमा सुरुवात भएको च्याटजीपीटीको सर्वसुलभता र विकासले तीव्र गति सन् २०२३ मा नै लियो । कोडिङ भाषा पाइथनमा लेखिएको च्याटजीपीटीको स्टेबल रिलिज भने गत महिना नोमेम्बर २१ मा मात्रै भएको हो । जेनेरेटिभ एआई च्याटजीपीटीले प्रयोगकर्ताले सोधेको प्रश्नको जवाफ सहज र स्पष्ट भाषामा दिन्थ्यो । र यसको तीव्र विकास र चर्चाले विश्वभरकै ठूला ठूला प्रविधि कम्पनीहरुमा पनि रेड अलर्ट ल्याइदिएको थियो । गुगलजस्तो विश्वकै ठूलो कम्पनीमा च्याटजीपीटीका कारण रेड अलर्ट जारी भएर गुगलका संस्थापक लेरी पेर र सेरगे ब्रीनलाई कम्पनीमा फिर्ता समेत बोलाइएको थियो ।

च्याटजीपीटीसँगै ‘टेक्स्ट टु इमेज’ शैलीका एआईहरुको पनि यो वर्ष निकै चर्चा भयो । मिडजर्नी, स्टेबल डिफ्युजन, डालिजस्ता एआईले प्रयोगकर्ताले दिने निर्देशनका आधारमा तस्बिर बनाएर दिन्थे र यी तस्बिरहरुले यो वर्ष विश्वभरमा नै चर्चा समेत कमाए ।

कालान्तरमा च्याटजीपीटीजस्तो एआईको चर्चाका कारण बार्ड र जिमिनीजस्ता एआई पनि बजारमा आए, जसको निर्माण गुगलले गरेको छ ।

सँगै माइक्रोसफ्टजस्ता कम्पनीहरुले पनि आफ्नै तस्बिर बनाउने एआईहरु ल्याएका छन् । अहिले एआईको क्षेत्रमा प्रयोगकर्ताका लागि लेखिदिनेदेखि चित्र बनाइदिने, गीत गाइदिनेलगायतका धेरै किसिमका एआईहरु आइसकेका छन् ।

टेक तार्गेटकाअनुसार सन् २०२३ मा जेनेरेटिभ एआईले मानिसलेजस्तै किसिमको लेख्ने, अनुवाद गर्ने र विभिन्न किसिमका सामग्री निर्माण गर्ने गरि तीव्र विकास भएको छ । सँगै यसले शिक्षादेखि प्रविधि क्षेत्र, कन्टेन्ट क्रियसनको क्षेत्रलगायतका क्षेत्रहरुमा क्रान्ती ल्याउने पनि देखिएको टेक तार्गेटले जनाएको छ ।

एआईको क्षेत्रमा सन् २०२३ महत्वपूर्ण हुनुको अर्को कारण भने यो वर्ष चर्चित लार्ज ल्यांग्वेज मोडल (एलएलएम)हरुमा प्रमुख परिवर्तनहरु भएका छन्, जसले यीनिहरुको सत्यतादेखि जटिल निर्देशनहरुलाई पनि सहजै यीनिहरुले ह्यान्डल गर्न सफल भएका छन् ।

एआईको बढ्दो विकास र यसमा भइरहेको अनुसन्धानले यसको थप वृद्धि हुने स्पष्ट छ । सँगै यसले कतिपय क्षेत्रका जागिरहरु गुम्ने र नयाँ किसिमका जागिरहरु सिर्जना हुने पनि देखिएको छ । एआईको विकासकै परिणामका रुपमा विभिन्न सञ्चार माध्यमले समेत एआई समाचार वाचकलाई समेत प्रयोग गरेको घटना सन् २०२३ मा देख्न पाइएको थियो ।

एआईमा भइरहेको तीव्र विकासकाबीच यसको निगरानी तथा नियमनको विषयले पनि यो वर्ष राम्रो चर्चा पाएको छ । चीनले पहिलो पटक एआईको विषयलाई लिएर नीतिगत कदम चालेको छ भने अन्य देशहरुमा पनि यो क्षेत्रमा तीव्र रुपमा भइरहेको विकासका कारण यसले ल्याउन सक्ने जोखिमलाई मध्यनजर गर्दै नियमन गर्नुपर्ने कुराहरु उठेका छन् । चीनले गत अगस्टमा जेनेरेटिभ एआईको प्रयोगको विषयलाई लिएर नियमन गर्ने कानुन बनाएको थियो ।

सन् २०२३ मा एआईको विकास र चर्चासँगै एआई क्षेत्र पनि निकै चर्चामा रहेको क्षेत्र हो । मुख्यतः सेम अल्टमेनको कम्पनीबाट भएको बर्खास्तीको घटनाले पछिल्लो पटक निकै चर्चा पायो । गुगलमा रेड अलर्ट जारी गराउन भूमिका खेलेको च्याटजीपीटी निर्माण गर्ने प्रमुख मान्छे सेम अल्टमेनको बर्खास्तीको घटना प्रविधि क्षेत्रमा नै ठूलो विषय बनेको थियो ।

च्याटजीपीटीको निर्माता कम्पनी ओपन एआईमा प्रमुख कार्यकारी अधिकृत (सिइओ) रहेका अल्टमेनलाई कम्पनीबाट निकालिएको थियो । नोमेम्बर १७ मा उनलाई अचानक कम्पनीका बोर्ड सदस्यहरुले बर्खास्त गरेको घटना सार्वजनिक भएको थियो । यो घटना सार्वजनिक भएसँगै प्रविधिको क्षेत्रमा एक प्रकारको उथलपुथल नै भएको थियो । च्याटजीपीटी मात्रै होइन, समग्रमा एआईलाई अहिलेको अवस्थामा ल्याउनमा प्रमुख भूमिका खेलेका अल्टमेनलाई बर्खास्त गरिएको घटनाले सबैतिर चर्चा पाएको थियो ।

माइक्रोसफ्टको पनि लगानी रहेको कम्पनी ओपन एआईबाट बर्खास्त भएका अल्टमेनलाई माइक्रोसफ्टले आफ्नो कम्पनीमा ल्याउने चर्चा उनको बर्खास्तीको केही दिनमा नै आएको थियो । उनलाई माइक्रोसफ्टमा नै एआईसम्बन्धि अनुसन्धान गर्ने निकायमा राख्ने भन्ने हल्ला पनि भएको थियो । तब पुनः उनी ओपन एआईमा नै फिर्ता भएको खबर बाहिरिएको थियो ।

बर्खास्त भएको १३ दिनपछि अल्टमेन पुनः ओपन एआईमा नै फर्किएका थिए । अल्टमेनको पुनः नियुक्तीसँगै प्रविधि क्षेत्रको यो घटना साम्य भएको थियो ।

समग्रमा २०२३ मा प्रविधि क्षेत्रमा प्रमुख रुपमा एआईसँग सम्बन्धित विषयहरु हाबी भएका छन् । र सन् २०२४ मा पनि यो यथावत हुने देखिन्छ । एआईले वैश्विक अर्थतन्त्रमा ४.४ ट्रिलियन अमेरिकी डलरको योगदान पुर्याउने सम्भावना रहेको देखिएसँगै यसले आगामी वर्षहरुमा पनि प्रविधि क्षेत्रको प्रमुख विषयका रुपमा हाबी हुने पक्का छ ।

तर, एआईसँगसँगै अन्य विषय र घटनाहरु समेत यो वर्ष चर्चामा आएका छन् । तीनै घटनामध्येको एक हो, सिलिकन भ्याल्ली बैंक टाँट पल्टिएको घटना । वित्तिय क्षेत्रसँग सम्बन्धित बैंक टाँट पल्टिएको घटना भएतापनि यसले प्रविधि क्षेत्रमा ठूलो भूमिका खेलेको छ ।

सन् २०२३ मार्च १० मा एकाएच अमेरिकाको १६ औं ठूलो र प्रविधि क्षेत्रका धेरै कम्पनीहरुको लाइफलाइनका रुपमा रहेको सिलिकन भ्याल्ली बैंक बन्द हुने घटना बाहिरियो ।

सिलिकिन भ्याल्ली बैंक मुख्यतः प्रविधि क्षेत्रका स्टार्टअपहरुका लागि लाइफलाइन नै रहेको थियो । बैंक टाँट पल्टिएको घटनाले थुप्रै प्रारम्भिक चरणमा रहेका स्टार्टअपहरुलाई असहज परिस्थिति सिर्जना भएको टेक तार्गेटले जनाएको छ । सबै बैंकहरुले स्टार्टअप कम्पनीहरुलाई सहजै कर्जा नलिने अवस्थामा सिलिकन भ्याल्ली बैंक भने प्रविधि क्षेत्रका स्टार्टअपहरुका लागि अपवाद थियो । तर, बैंक बन्द हुनुले प्रविधि क्षेत्रमा पनि ठूलो प्रभाव पारेको छ ।

सिएनएनकाअनुसार बैंक बन्द हुनुले प्रविधि क्षेत्रका स्टार्टअपहरु नै संघर्ष गर्नुपर्ने अवस्था सिर्जना भएको छ । अचानक भएको यो घटनाले स्र्टाअपहरुमा कर्मचारीलाई जागिरबाट निकाल्नु पर्ने र आफ्नो खर्च कटौती गर्नुपर्ने अवस्था सिर्जना भएको थियो ।

प्रारम्भिक रुपमा यसको असरको विश्लेषण गरिएको भएतापनि यसको दीर्घकालिन असर भने अहिलेसम्म पनि देखिएको छ । सिलिकन भ्याल्ली बैंक बन्द हुनुले कर्मचारीको पारिश्रमिकमा ढिलाई हुने घटना अहिलेसम्म पनि कतिपय प्रविधि क्षेत्रका स्टार्टअपहरुमा रहेका छन् ।

सिलिकन भ्याली बैंक टाँट पल्टिएको घटनाले प्रभाव पारेजस्तै अर्को ठूलो प्रभाव पार्ने प्रविधि क्षेत्रको यो वर्षको घटना थियो एफटिएक्स ठगी । विश्वकै सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी एक्सचेन्ज कम्पनी एफटिएक्स केही दिनभित्रमा नै बन्द हुने अवस्थामा आएको थियो । नोमेम्बरमा भएको यो घटनाको पछाडिका कारणहरु ठगीदेखि अव्यवस्थित व्यवस्थापन जस्ता कैंयौं कारणहरु रहेका छन् । तर, यो घटनाले आधुनिक प्रविधिको प्रयोगबाट मौलाइरहेको क्रिप्टोकरेन्सीको क्षेत्रमा नै ठूलो प्रभाव पारेको छ ।

कम्पनीले उपभोक्ताको प्रेसाको गलत प्रयोग गरेको देखि पारदर्शिताको कमिजस्ता कारणले एफटिएक्स रातारात बन्द हुने र यसका संस्थापक सेम बैंकमेन गिरफ्तार हुने अवस्था आएको थियो । यो घटनाले पनि प्रविधि क्षेत्रमा २०२३ मा राम्रो चर्चा कमाएको थियो ।

यीनकै घटनाहरुका बीच सन् २०२३ मा ठूलो परिवर्तन सामाजिक सञ्जालको माध्यम ट्विटरमा पनि भयो । अक्टोबर २०२२ मा ट्विटरको मालिक भएका मस्कले ट्विटरलाई लिएर आफूसँग भएका योजनाहरुको अवलम्बन २०२३ मा भरपुर रुपमा गरेको देखिन्छ । कहिले कम्पनीको लोगो परिवर्तन गरेर कुकुरको फोटो राख्नु त कहिले कम्पनीको नाम नै परिवर्तन गरेर एक्स राख्ने जस्ता घटनाहरुले यो वर्ष ट्विटरलाई पनि राम्रो चर्चा दिलायो ।

चर्चासँगै मस्कको नेतृत्वका बीच ट्विटरमा परिवर्तनहरु पनि भएका छन् । नीतिगत रुपमा नै कन्टेन्ट मोडेरेसनमा परिवर्तन भएको छ भने कम्पनीले गत अफ्रिबाट सशुल्क प्रमाणिकरणको सुविधा पनि दिएको छ । यी र यस्तै घटनाहरुले २०२३ मा ट्विटर पनि हेडलाइनको विषय बनेको थियो ।

त्यस्तै, गेम निर्माता कम्पनी एक्टिभिसन ब्लिजार्डको अधिग्रहण पनि यो वर्ष प्रविधिको क्षेत्रको प्रमुख घटना थियो । सन् २०२२ मा नै घोषणा भएपनि गत अक्टोबरमा मात्रै यो अधिग्रहण सम्पन्न भएका थियो । माइक्रोसफ्टले ६८.७ बिलियन अमेरिकी डलरमा एक्टिभिसन ब्लिजार्डलाई किनेको थियो । एक्टिभिसन ब्लिजार्ड कम्प्युटर गेमिंगको क्षेत्रमा शीर्षमध्येको कम्पनी हो, जसले सन् २०२१ मा ८.८ बिलियन अमेरिकी डलर बराबरको आम्दानी गरेको थियो ।

यीसँगै फेसबुकले डेटा ब्रिचका कारण युरोपेली संर्घको गोपनियताको कानुनले मेटालाई १.३ बिलियन अमेरिकी डलर जरिवाना तिराउने निर्णय भएको थियो । एप्पलले पहिलो पटक बेस मोडलका आइफोनमा पनि क्यामेराको मेगापिक्सल बढाएर ४८ मेगापिक्सल पनि यहि वर्ष बनाएको थियो । सन् २०२२ मा आईफोन प्रोमा मात्रै दिइएको यो सुविधालाई सन् २०२३ बाट भने बेस आईफोन (सुरुवाती आईफोन)बाट नै दिने गरि कम्पनीले आईफोन १५ सिरिजलाई लाई बजारमा ल्याएको थियो ।

समग्रमा वेब थ्रिमा भइरहेको विकास, मेटाभ्रसको प्रयोग र विकास, डिजिटल र फिजिकल संसारलाई जोड्ने गरि निर्माण भइरहेका सेन्सरजस्ता प्रविधिहरु र ग्रीन टेक्नोलोजि (हरित प्रविधि)मा भइरहेको विकास तथा कामका घटनाहरुले यो वर्ष प्रविधि क्षेत्रलाई चर्चामा राखेका छन् ।


क्लिकमान्डु