मुलुकको अर्थतन्त्र सकारात्मक बाटोमा गइरहेको छ: अर्थमन्त्री



काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले मुलुकको अर्थतन्त्र सकारात्मक बाटोमा गइरहेको बताएका छन् ।

मंगलबार चितवनमा आयोजित ‘१७ औं चितवन हात्ती तथा पर्यटन महोत्सव–२०८०’ को उद्घाटन समारोहमा अर्थमन्त्री महतले विभिन्न तथ्यांकहरुले पनि अर्थतन्त्र सकारात्मक बाटोमा गइरहेको देखाएको उल्लेख गरे ।

जलविद्युत, कृषि, पर्यटन र सूचना प्रविधिको क्षेत्रबाट मुलुकको अर्थतन्त्रलाई माथि पुर्‍याउन सकिने उनको भनाइ छ ।

‘अब आर्थिक डेटाहरुले, तथ्यांकहरुले अव अर्थतन्त्र सकारात्मक बाटोमा गइरहेको देखाएको छ । यो अवसरलाई ग्रयाप गर्नुपर्छ भन्ने भाष्यलाई अगाडि बढाउन जरुरी छ भन्ने मलाई लाग्छ । त्यो भयो भने नेपालको अर्थतन्त्रले एउटा जम्फ स्टार्ट गर्छ,’ उनले भने,’यहाँको हाईड्रो पावर, एग्री विजनेस, कृषि व्यवसाय, पर्यटन र आईटी सेक्टरले मुलुकको अर्थतन्त्रलाई माथि पुर्‍याउने निश्चित छ ।’

अर्थमन्त्री महतले देश भित्रै केही गर्न युवाहरुलाई पनि आह्वान गरे । नेपालमा केही छैन भन्ने सोचेर बाहिर जाने भन्दा पनि नेपालमा केही गर्न सकिन्छ भन्ने सोच युवाहरुले राखेर अघि बढनुपर्ने उनको भनाइ छ ।

देशमा धेरै गर्न बाँकि रहेकाले अवसर पनि यही रहेको उल्लेख गर्दै अर्थमन्त्री महतले सो अवसरलाई उपयोग गर्न युवा उद्यमीहरुलाई आग्रह गरे । चितवनको पर्यटन क्षेत्रमा थप आकर्षण थप्नका लागि पूर्व–पश्चिम राजमार्ग ६ लेन र जंगल क्षेत्र ४ लेनको बिस्तार गर्ने कार्यलाई सरकारले तत्काल अघि बढाउने उनले बताए ।

अर्थमन्त्री महतले निकुञ्जसम्बन्धि पुरानो ऐन सरकारले संशोधन गर्ने आश्वासनसमेत दिए ।


क्लिकमान्डु