दुबईबाट ल्याएको सुन विमानस्थलमा शौचालयको डस्टबिनमा ट्वाइलेट पेपरले छोपेर जान्थे ‘तस्कर’



काठमाडौं । दुबईबाट तस्करहरुले ल्याएको सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागनम काउन्टर छेउको शौचालयको डस्टबिनमा राखेर पछि निकाल्ने गरेको पाइएको छ ।

१४ किलो सुन तस्करीबारेको अध्ययन अनुसन्धान गर्न गठित समितिले आइतबार दुबईबाट सुन पठाउनेदेखि विमानस्थलबाट बाहिर पठाउने गरेको सम्मको विवरण सार्वजनिक गर्दै तस्करहरुले सुन कसरी बाहिर निकाल्थे भन्ने उल्लेख गरेको हो ।

भन्सार प्रमुख टोकराज पाण्डे नेतृत्वमा गठन भएको छानबिन समितिले आइतबार बुझाएको प्रतिवेदनमा मीनबहादुर घलेले दुबईमा रहेका अंकित अग्रवाल नाम गरेका व्यक्तिसँग सम्पर्क गरी नेपालमा सुन तस्करी गरेको पाइएको जनाएको छ ।

तस्करहरुले १३८ किलो सुन ल्याएको र त्यसमध्ये पछिल्लो पटक १४ केजीमात्र पक्राउ परेको प्रतिवदेनमा उल्लेख गरिएको छ ।

मिनबहादुर घले, चन्द्र आले र कृष्णकुमार श्रेष्ठले पटकपटक गरि १३८ केजी सुन ल्याएर विमानस्थलबाट सेटिङ मिलाएर बाहिर ल्याउने गरेकोमा पछिल्लो पटक चन्द्र घलेले ल्याएको १४ केजी मात्र पक्राउ परेको देखिएको समितिले जनाएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले २२ मंसिरमा दूबईबाट आएका चन्द्र घलेलाई १४ किलो सुनसहित पक्राउ गरेको थियो ।

मीन घलेले एयरपोर्टको सेटिङ मिलाउन डिवी भनिने दनबहादुर गुरुङलाई प्रयोग गरेको देखिन आएको समितिको ठहर छ ।

दुबईबाट ल्याएको सुन मीन घलेसँग सम्पर्क गरी गोरखाकै चन्द्र घलेले दिएको टोकन (पाँच दिरामको नोट) दिएर १४ किलो सुन आफैंले बुझी अध्यागमनको काउन्टर छेउमा रहेको शौचालयको डस्टबिनमा ट्वाइलेट पेपरले छोपी निस्कने गरेको पाइएको प्रतिवेदनमा जनाइएको छ ।

ट्वाइलेटको चाबी दुई वटा बनाएर एउटा सुन तस्करको समूहले बोक्ने गरेको र सुन लुकाएपछि आफूसँग भएको चाबी प्रयोग गरेर सुन बाहिर निकाल्ने गरेको देखिएको समितिले निकालेको छ।

विमानस्थलबाट सुन बाहिर निकाल्न एयरपोर्टमा कार्यरत नागरिक उड्ययन कार्यालय, गौचरनका एसी मेकानिक राधाकृष्ण श्रेष्ठ, कार्यालय सहयोगी लेक बहादुर तामाङ, सेवा निवृत्त भई करारमा कार्यरत रमेश देउला, एसी शाखामा काम गर्ने सहयोगी अनिल श्रेष्ठ र प्लम्बर शेरबहादुर बस्नेत समेतले भूमिका खेलेको खुल्न आएको समितिको भनाइ छ ।

एयरपोर्टबाट बाहिरिएको सुन रमेश, राधाकृष्ण र अनिलले काठमाडौंको टोखा नगरपालिका, बानियाटार सूर्यदर्शन हाइटमा रहेको डीबी गुरुङको घरमा पुर्‍याउने गरेको र यो सुन मिनबहादुर र उनका साथी जाने भन्ने जीवन गुरुङले अंकितले भनेको स्थानमा पुर्‍याउने गरेको समितिको दाबी छ ।

छैन सीसीटीभी फुटेज

छानबिन समितिले विमानस्थलमा तीन महिनाको सीसीटीभी फुटेजसमेत नभएको पाएको जनाएको छ ।

समितिले छानबिनका लागि विमानस्थलको आगमनतर्फको पछिल्लो तीन महिनाको सीसीटीभी फुटेज माग गरे पनि ब्याकअप नभएको भन्दै २१ दिनसम्मको मात्रै रेकर्ड पाइएको समितिका संयोजक पौडेलले बताए ।

नेपाल सरकारको सीसीटीभी जडान तथा सञ्चालन कार्यविधि, २०७२ (संशोधन तथा परिमार्जन २०७५) मा सार्वजनिक तथा सरकारी निकायले तीन महिनासम्म सीसीटीभी फुटेजको अभिलेख सुरक्षित राख्नुपर्ने प्रष्ट व्यवस्था भएको भए पनि विमानस्थलसँग २१ दिनको मात्र फुटेज रहेको हो ।

समितिले विमानस्थलको भीआईपी कक्षमा जाने सिँढीको सीसीटीभी फुजेट पनि विमानस्थलसँग मागेको थियो । तर, त्यहाँको सीसी क्यामरा नै ‘आउट अफ सर्भिस’ रहेको जानकारी समितिलाई दिइएको छ ।


क्लिकमान्डु