विमानस्थलमा २१ दिनभन्दा अघिको सीसीटीभी फुटेज गायब, सुन तस्करीको अनुसन्धानमा समस्या



काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै सुन तस्करीका घटनाहरु सार्वजनिक भइरहेका छन् । तर, सुन तस्करी भइरहेको घटनाको छानबिन र अनुसन्धानका लागि आवश्यक पर्ने सीसीटीभी फुटेजसमेत विमानस्थलसँग २१ दिनको मात्र हुने गरेको पाइएको छ ।

लामो समयदेखि विदेशबाट नेपालमा सुन तस्करी हुँदै आएको भन्दै ठूलो परिमाणमा सुन र व्यक्तिहरु पक्राउ परिरहेका छन् ।

त्रिभुवन विमानस्थलबाट दैनिकजसो सुनको तस्करी हुँदा अन्तर्राष्ट्रिय स्तरमा नेपालको शाख गिरिरहेको छ तर विमानस्थलको सुरक्षामा भने जिम्मेवार निकाय गम्भीर देखिएको छैन।

सुन तस्करीको घटनाबारे छानबिन गरिरहेको भन्सार विभाग र प्रहरीले विमानस्थलको एक महिनाभन्दा अघिको सीसीटीभी फुटेज चाहेको थियो तर विमास्थल प्रशासनले भने २१ दिनसम्मको मात्र फुटेज उपलब्ध हुने जवाफ दियो ।

‘हामीले सुनको तस्करीका बारेमा छानबिन गर्नका लागि एक महिना भन्दा अघिको सीसीटीभी फुटेज खोजेका थियौं’, सुन तस्करीबारे अनुसन्धान गरिरहेका एक अधिकारीले भने, ‘तर विमानस्थल जस्तो क्षेत्रमा २१ दिनको मात्र फुटेज हुने र त्यसअघिको मेटिँदै जाने अवस्था रहेछ।’

उनले नियतवश सीसीटीभीको स्टोरेज क्षमता नबढाइएको हुनसक्ने आशंका व्यक्त गरे । ‘सार्वजनिक तथा सरकारी निकायले तीन महिनासम्म सीसीटीभी फुटेजको अभिलेख सुरक्षित राख्नुपर्ने स्पष्ट कानुनी व्यवस्था हुँदा हुँदै पनि त्यसलाई वेवास्ता गरेको पाइयो, यसमा सफा नियत देखिँदैन।’

तर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक प्रतापबाबु तिवारी ३ महिनाको सीसीटीभी फुटेज अभिलेख राख्न मिल्ने गरि काम भइरहेको बताउँछन् । उनले विमानस्थलका कतिपय स्थानमा त्यसको काम भइसकेको दाबी गरे । ‘अहिले तीन महिनाको भीडीओ राख्न मिल्ने गरि काम भइरहेको छ,’ तिवारीले भने, ‘विमानस्थल क्षेत्रका कतिपय स्थानमा राखि सकिकएको छ भने कतिपय ठाउँमा काम भइरहेको छ ।’

विमास्थलबाट सुन तस्करीका घटना नयाँ होइन् । २०७४ माघ ९ मा युएईबाट काठमाडौं ल्याएको साढे ३३ किलो सुन हराएको घटना भएको ६ वर्ष बितिस्कदा पनि विमानस्थलले तीन महिनाको सीसीटीभी फुजेट राख्न मिल्ने व्यवस्था गर्न वास्ता नगरेको हो ।

तीन महिनाको फुटेज राख्नुपर्ने कानुनी व्यवस्था

विमानस्थलमा २१ दिनको मात्र सीसीटीभी फुटेज रहने र त्यसअघिको मेटिँदै जाने गरेको भए पनि कानुनमा तीन महिनाको सीसीटीभी फुटेज राख्नुपर्ने कानुनी व्यवस्था रहेको छ ।

नेपाल सरकारको सीसीटीभी जडान तथा सञ्चालन कार्यविधि, २०७२ (संशोधन तथा परिमार्जन २०७५) मा सार्वजनिक तथा सरकारी निकायले तीन महिनासम्म सीसीटीभी फुटेजको अभिलेख सुरक्षित राख्नुपर्ने प्रष्ट व्यवस्था गरिएको छ ।

तर, विमानस्थलले कानुनको धज्जी उडाउँदै गैरजिम्मेवार जवाफ दिएको हो । विमानस्थलजस्तो संवेदनशील क्षेत्रमा २१ दिनको मात्र सीसीटीभी फुटेज हुने र दैनिक सुन तस्करीका घटना बढिरहेको समयमा समेत त्यसलाई वेवास्ता गर्नु गैरजिम्मेवारीपन भएको अनुसन्धानमा खटिएका अधिकारी बताउँछन् ।

सीसीटीभी जडान तथा सञ्चालन कार्यविधि तीन महिना फुटेज सुरक्षित राख्नुपर्ने र यो कार्यान्वयन नभएमा विद्युतीय कारोबार ऐन २०६३ बमोजिम कारबाही हुने व्यवस्था गरिएको छ ।


क्लिकमान्डु