५ महिनामा पौने ६ खर्ब व्यापारघाटा



काठमाडौं । चालु आर्थिक वर्षको ५ महिनाको अवधिमा नेपालले पौने ६ खर्ब व्यापारघाटा व्यहोरेको छ ।

भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको ५ महिनाको अवधिमा ५ खर्ब ७९ करोड १५ लाख रुपैयाँ व्यापारघाटा व्यहोरेको हो । गत वर्षको सोही अवधिमा ५ खर्ब ९७ अर्ब ४४ करोड १९ लाख रुपैयाँ व्यापारघाटा व्यहोरेको थियो ।

चालु आर्थिक वर्षमा नेपालले ७ खर्ब ५ अर्ब ४१ करोड ६४ लाख रुपैयाँको वैदेशिक व्यापार गरेको छ । गत वर्षको सोही अवधिमा नेपालले ७ खर्ब ३२ अर्ब ५ करोड ९ लाख रुपैयाँको वैदेशिक व्यापार गरेको थियो ।

नेपालले ५ महिनाको अवधिमा ६ खर्ब ४२ अर्ब २० करोड ८९ लाख रुपैयाँको वस्तु आयात गरेको छ । गत वर्षको सोही अवधिमा नेपालले ६ खर्ब ६४ अर्ब ७४ करोड ६४ लाख रुपैयाँको वस्तु आयात गरेको थियो । गत वर्षको तुलनामा चालु आवको सोही अवधिमा ३.३९ प्रतिशतले कम वस्तु आयात गरेको छ ।

त्यसैगरी, तथ्याङ्कअनुसार ५ महिनाको अवधिमा ६३ अर्ब २० करोड ७४ लाख रुपैयाँको वस्तु निर्यात गरेको छ । गत वर्षको सोही अवधिमा नेपालले ६७ अर्ब ३० करोड ४५ लाख रुपैयाँको वस्तु निर्यात गरेको थियो । जुन गत आवको तुलनामा ६.०९ प्रतिशतले कम हो ।

आयातित वस्तुबाट नेपालले १ खर्ब ७० अर्ब ९८ करोड १२ लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।


क्लिकमान्डु