सबैभन्दा बढी आयकर तिर्ने नेपालीहरु



काठमाडौं । सरकारलाई सबैभन्दा बढी आयकर तिर्ने व्यक्तिमा बिजयकुमार शाहले सिदार्थ राणालाई पछ्याइरहेका छन् ।

अहिलेसम्म सरकारले राणालाई सबैभन्दा धेरै व्यक्तिगत आयकर तिरेको भन्दै ७ पटक सम्मान गरेको छ भने शाहलाई ३ पटक सम्मान गरेको छ । पछिल्लो दुई वर्ष शाह लगातार सबैभन्दा धेरै कर तिर्ने व्यक्ति बन्न सफल बनेका हुन् ।

आन्तरिक राजस्व विभागले २०६९ सालदेखि हरेक वर्ष विभिन्न क्षेत्रका ठूला करदातालाई सम्मान गर्दै आएको छ।

पहिलोपटक अर्थात् २०६९ सालमा पृथ्वीबहादुर पाँडे सबैभन्दा धेरै कर तिर्ने व्यक्ति बनेका थिए । त्यसबेला पाँडे नेपाल इन्भेष्टमेन्ट बैंकका कार्यकारी अध्यक्ष थिए । अहिले पनि उनी नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका अध्यक्ष छन् । पाँडे बैंकिङका बादशाह नै मानिन्छन् । यद्यपि, अहिले बैंकमा अरु थुप्रै व्यवसायीहरु पाँडेलाई टक्कर दिन आइसकेका छन् ।

त्यसपछि २०७० सालमा सिप्रदी ट्रेडिङ प्रालिका कार्यकारी अध्यक्ष सिद्धार्थ राणा सबैभन्दा बढी कर तिर्ने व्यक्तिका रुपमा सम्मानित भए ।

त्यस्तै, २०७२ सालमा डा. उपेन्द्र देवकोटाले सबैभन्दा बढी आयकर तिरे भने त्यसपछिका वर्षहरु ०७३, ०७४, ०७५, ०७६ र ०७८ सालमा सिप्रदीका राणाले बढी कर तिरेर सम्मान पाए ।

२०७७ सालमा राणालाई उछिन्दै पहिलोपटक मदिरा व्यवसायका बादशाह बिजयकुमार शाह बढी आयकर तिर्ने व्यक्तिकारुपमा सम्मानित भए । शाह जाउलाखेल डिस्ट्रलरी ग्रुपका संस्थापक अध्यक्ष हुन् ।

त्यसपछि शाह २०७९ र २०८० सालमा फेरि सबैभन्दा बढी कर तिर्ने व्यक्तिकारुपमा सम्मानित भएका छन् । सरकारले राष्ट्रिय कर सप्ताहको अवसरमा बिहीबार फेरि शाहलाई बढी व्यक्तिगत आयकर तिर्ने व्यक्तिका रुपमा सम्मान गरेको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले शाहलाई सबैभन्दा बढी व्यक्तिगत आयकर तिर्ने व्यक्तिका रुपमा बिहीबार सम्मानपत्र प्रदान गरे ।

तेस्रोपटक बढी कर तिरेर सम्मानित हुने शाह को हुन् ?

शाह नेपाली मदिरा व्यवसायको क्षेत्रका बादशाह मानिन्छन् । आर्थिक वर्ष २०७५/७६ मा शाहले १५ करोड २७ लाख रुपैयाँ आयकरवापत बुझाएर २०७७ सालमा सम्मानित भएका थिए । जावलाखेल ग्रुप अफ कम्पनीअन्तर्गत हिमालयन डिस्टिलरी, राज ब्रुअरी, एशियन डिस्टिलरी, रोलिङ रिभर डिस्टिलरी, राज डिस्टिलरी लगायतका कम्पनी छन् । जसले रुस्लान भोड्का, गोल्डेन ओक, कालापथ्थर, बडबाइजर र वार्सटाइनर वियरलगायत डेढ दर्जन बढी ब्राण्डमा मदिरा उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ ।

सन् १९६९ मा अमेरिकाबाट अध्ययन गरेर फर्केपछि उनले आधुनिक मेसिन ल्याएर नेपालमा मदिरा व्यवसायको सुरुवात गरेका थिए ।

लगातार २ वर्ष बढी आयकर तिर्ने व्यक्ति बनेसँगै बिजयकुमार शाहले यसअघि सिद्धार्थ राणाको एकलौटीजस्तै बनेको बढी आयकर तिर्ने व्यक्तिको ताज खोस्न सक्ने देखिएको छ । तर, यो निर्धारण भने आगामी दिनमा उनीहरुले लिने बिजनेश डिसिजन र आम्दानीमा भर पर्छ ।

को हुन् सातौं पटक धेरै कर तिर्ने राणा ?

सिप्रदी ट्रेडिङका अध्यक्ष, सूर्य नेपालको सञ्चालक समितिका निर्देशक तथा सोल्टी होटेलका लगानीकर्ता हुन् सिद्धार्थ राणा । सिप्रदी ट्रेडिङ नेपालका लागि टाटा मोटर्सको आधिकारिक विक्रेता हो । टाटा नेपालको एक नम्बरको अटो कम्पनीका रुपमा स्थापित भएको छ ।

सिद्धार्थ सिद्धार्थ राणा नेतृत्वको कम्पनीको लगानी अतिविशिष्ट विदेशी पाहुनाको रोजाइमा पर्ने पाँच तारे सोल्टी होटेलमा पनि छ । सोल्टी होटेल सिद्धार्थका बुबा प्रभाकर राणाले स्थापना गरेका थिए ।

साथै, विदेशी पुँजी र प्रविधि ल्याएर देशभित्रै रोजगारी सिर्जना गर्न यो राणा परिवारको ठूलो भूमिका छ । भोटेकोशी जलविद्युत आयोजनामा नेपालमा पहिलोपटक जलविद्युतमा प्रत्यक्ष विदेशी लगानी यही परिवारले भित्र्याएको थियो ।

राणाको व्यक्तिगत कमाइ धेरै हुनुमा बहुराष्ट्रिय कम्पनी सूर्य नेपाल प्रालिले पनि हो । सन् १९८६ देखि चुरोट उत्पादन गरेर बिक्री गर्दै आएको सूर्य नेपाल आफैँमा उत्कृष्ट करदाताको सम्मान पाउँदै आएको छ। सूर्य नेपालका नेपाली साझेदार रहेका छन् सिद्धार्थ राणा ।

पूर्व अर्थसचिव कृष्णहरी बास्कोटाका अनुसार कर तिर्ने ब्यक्तिलाई सम्मान गर्दा मुलुकमा उद्यमी तथा उद्यमशीलताको कदर हुने भएका कारण उत्कृष्ट करदाता सम्मान गर्न थालिएको हो । यसरी सम्मान गर्दा कर तिर्नु गर्वको कुरा हो र राज्यलाई कर तिर्नुपर्छ भन्ने सन्देश पनि समाजमा जाने भएका कारण सरकारले उत्कृष्ट करदाता सम्मान गर्ने परम्परा स्थापित गरेको भनाइ छ ।


क्लिकमान्डु