सुदूरपश्चिममा कृषि ऋण लिने, बीमा गराउने र सरकारी अनुदान पाउने किसानको संख्या न्यून



कैलाली । राष्ट्रिय तथ्यांक कार्यालयले राष्ट्रिय कृषि गणना २०७८ को सुदूरपश्चिम प्रदेशस्तरीय नतिजा सार्वजनिक गरेको छ । धनगढीमा शुक्रबार आयोजित नतिजा सार्वजनिक कार्यक्रममा सुदूरपश्चिममा ४ लाख ५७ हजार ७५६ किसान परिवारले १ लाख ९२ हजार आठ सय ८५ हेक्टरमा कृषिकार्य गरेको जानकारी दिइएको छ ।

नेपालमा कुल सिञ्चित क्षेत्रफल ५४.५ प्रतिशत देखिएकोमा सुदूरपश्चिममा ६० प्रतिशत सिँचाइ सुविधा उपलब्ध भएको जनाइएको छ । नेपालमा सिँचाइ सुविधा लिएका परिवार ७० प्रतिशत देखिएकामा सुदूरपश्चिममा ७६ प्रतिशत परिवारले सो सुविधा पाएको राष्ट्रिय तथ्यांक कार्यालयका निर्देशक बद्रीकुमार कार्कीले बताए ।

सुदूरपश्चिममा धान १ लाख ८ हजार ८ सय, मकै २३ हजार ७३ र गहुँ १ लाख ४ हजार ५७३ हेक्टर क्षेत्रफलमा गरिँदै आएको तथ्यांकमा उल्लेख गरिएको छ । यस्तै सुदूरपश्चिममा आँप ३ सय, केरा ७ सय पाँच, सुन्तला ३९३, कागती १८१ र स्याउ १३९ हेक्टरमा गरिएको जनाइएको छ ।

सार्वजनिक तथ्यांकअनुसार सुदूरपश्चिममा कृषि कार्यका लागि ट्रयाक्टर, पावरट्रिलर प्रयोग गर्ने किसानको संख्या बढ्दै गएको छ भने कृषि ऋण लिने, कृषि बीमा गराउने र सरकारी अनुदान लिने किसानको संख्या न्यून छ ।

सुदूरपश्चिममा मुख्य कृषकमा पुरुष र महिलाको प्रतिशत क्रमशः ६१.८ र ३८.२ छ भने वर्षभरि खान पुग्ने बताउने किसानको प्रतिशत ४०.१ रहेको तथ्यांकमा उल्लेख छ ।

कार्यक्रममा राष्ट्रिय तथ्यांक कार्यालयका सचिव तोयम रायले कृषि क्षेत्रमा सुधार गर्ने योजना तर्जुमा गर्न राष्ट्रिय कृषि गणना २०७८ को नतिजा फलदायी हुने बताए ।

उनले कृषि क्षेत्रमा लगानी गरेर उत्पादन बढाउनेतर्फ लाग्नुपर्ने बताए । नतिजा सार्वजनिक कार्यक्रममा विगतको गणनाभन्दा यस गणनामा सबैभन्दा बढी क्षेत्रफलमा तरकारी बढेको देखिएको जानकारी दिइएको छ ।


क्लिकमान्डु