सूचीकृत कम्पनीको वित्तीय विवरण एउटै हुनुपर्ने, लेखामान र धितोपत्र बोर्डबीच समझदारी



काठमाडौं । धितोपत्र बजारसँग सम्बन्धित संगठित संस्थाको विवरण प्रवाहमा एकरूपता तथा पारदर्शिता कायम गर्न र प्रतिवेदन मानहरूमा एकरूपता कायम गर्न लेखामान बोर्ड र नेपाल धितोपत्र बोर्डबीच समझदारी भएको छ ।

समझदारीपत्रमा बुधबार नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमाल र लेखामान बोर्डका अध्यक्ष प्रकाशजंग थापाले हस्ताक्षर गरेका हुन् ।

नेपालमा नेपाल सस्टेनविलिटी रिपोर्टिङ स्ट्यान्डर्ड (एनएसआरएस)को विकास तथा कार्यान्वयन गर्ने विषय समझदारीमा समावेश छ ।

नेपालको सन्दर्भमा एनएसआरएस नवीन अवधारणा हो, जसले व्यवसायिक अभ्यासहरू वातावरण वा समाजका लागि मात्र नभई व्यापारको लागि पनि राम्रो हुन्छ भन्ने कुरा प्रस्तुत गर्दै वातावरणीय जिम्मेवारी, सामाजिक उत्तरदायित्व, सुशासनको पूर्ति र जवाफदेहिताको जानकारी सुनिश्चित गर्नेछ ।

एनएसआरएस विकास गर्ने मुख्य भूमिका लेखामान बोर्डको हुनेछ भने नेपाल धितोपत्र बोर्डले कार्यान्वयन गर्ने आवश्यक भूमिका निर्वाह गर्नेछ । लेखामान बोर्डले सम्बन्धित प्राविधिक बिषयहरूमा नेपाल धितोपत्र बोर्डलाई आवश्यक सहयोग गर्नेछ ।

जुलाई २०२३ मा इन्टरनेशनल अर्गनाइजेशन अफ सेक्युरिटिज कमिसनले आइएसएसबीबाट जारी भएका आईएफआरएस एस१ र आईएफआरएस एस२ लाई समर्थन गर्दै सदस्यहरुलाई उक्त मानहरू लागू गर्न आह्वान गरेको छ ।

नेपाल धितोपत्र बोर्ड आओएससीओको एसोसिएट सदस्य रहेकाले सो मानहरु लागू गर्न प्रतिबद्धता जनाएको छ ।

धितोपत्र बजार सम्बद्ध संगठित संस्थाहरूबाट प्रवाहित हुनु पर्ने सूचना तथा जानकारीहरू अन्तर्राष्ट्रिय रूपमा प्रचलित असल अभ्यास हुनुपर्नेमा सदैब सचेत रहेको र सोही अनुसार नेपालमा समेत यस्ता अभ्यासअनुसार कार्य गर्न प्रतिबद्ध रहेको धितोपत्र बोर्डले जनाएको छ ।


क्लिकमान्डु