क्रस्चियन धर्म नमान्नेलाई देशद्रोही भनेपछि मन्त्री किराँतीको राजीनामा माग्दै प्रदर्शन



काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीको राजीनामा माग्दै पशुपति क्षेत्रमा प्रदर्शन भएको छ ।

मन्त्री किराँतीको राजीनामा माग गर्दै हिन्दूवादी संघसंगठनले पशुपति क्षेत्रमा प्रदर्शन गरेका हुन् ।

बुधबार मन्त्री किराँतीले एक कार्यक्रममा क्रिस्चियन नमान्नेहरू संविधान विरोधि र देशद्रोही बताएपछि त्यसको बिरोधमा उनीहरुले प्रदर्शन गरेका हुन् । सहभागीहरूले गैरजिम्मेवार मन्त्री बर्खास्त गर्, सुदन किराँती राजीनामा दे, धार्मिक क्षेत्रमा गैरधार्मिक नियुक्ति बन्द गर् लगायतका प्लेकार्ड बोकेर नारा लगाएका थिए ।

बुधबार काठमाडौंमा आयोजित क्रिस्चियन महोत्सवको कार्यक्रममा क्रिस्चियन धर्मको पक्षमा अभिव्यक्ति दिएका उनी बिबादमा परेका हुन् ।

क्रिस्चियन नमान्नेहरू संविधान विरोधि र देशद्रोही भन्दै उग्र भाषण गरेपछि उनी बिबादमा तानिएका हुन् । क्रिस्चियन मान्दिन भन्नेहरुलाई हतकडी लगाएर जेल हाल्ने उनको भनाइ थियो ।

‘नेपालको संविधानले सबैलाई आफ्नो धर्म मान्ने स्वतन्त्रता दिएको छ । क्रिस्चियनलाई मान्दिन भन्नेहरू संविधान विरोधी हुन् । देशद्रोही हुन् । उनीहरूलाई हतकडी लगाएर जेल हाल्ने हो’ किराँतीले भने ।

संसारमा सबैभन्दा बढी क्रिस्चियन धर्म मान्नेहरू रहेको बताउँदै उनले नेपालमा चाहिँ क्रिस्चियन माथि थिचोमिचो भएको उनको भनाइ छ । संसारले मानेको धर्म नेपालीले किन नमान्ने भन्ने उनको प्रश्न थियो । ‘संसारमा ३० प्रतिशत मान्छेले क्रिस्चियन धर्म मान्छन् । संसारले मानेको धर्म हामीले नमान्ने?’ उनले प्रश्न गरे ।

किरातीले प्रधानमन्त्री पु्ष्पकमल दाहालले समेत जिसस क्राइस्टलाई मान्ने बताउँदै प्रचण्डलाई जिसससँग तुलना गरे ।

‘प्रधानमन्त्री प्रचण्डज्यू जिससजस्तै विद्रोही नेता हो । उहाँको सबै कुरा जिसससित मिल्छ । जिसस अहिले जन्मेको भए ठ्याक्कै प्रचण्डजस्तै हुनुहुन्थ्यो । मलाई मात्र होइन, प्रधानमन्त्रीलाई पनि जिसस एकदमै मन पर्छ रे’ उनले भनेका थिए ।

उनको अभिव्यक्ति सार्वजनिक भएपछि हिन्दूवादीहरुले मन्त्री किरातीको चर्को आलोचना गरिरहेका छन् र उनको राजीनामा मागिरहेका छन् ।


क्लिकमान्डु