सामाजिक सुरक्षा कोषमा आबद्ध हुने कर्णाली प्रदेशकै पहिलो पालिका बन्यो चिङ्गाड



काठमाडौं । योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा अनौपचारिक क्षेत्रका श्रमिक तथा स्वरोजगारलाई आबद्ध गर्ने कर्णाली प्रदेशको पहिलो पालिकाको रुपमा चिङ्गाड गाँउपालिका बनेको छ ।

सामाजिक सुरक्षा कोषका निर्देशक उत्तमराज नेपाल र चिङ्गाड गाउँपालिकाका अध्यक्ष बोधविक्रम जिसीले मंगलबार सुर्खेतको वीरेन्द्रनगरमा चिङ्गाड गाउँपालिकामा रहेका अनौपचारिक क्षेत्रका श्रमिकसँगै स्वरोजगार व्यक्तिलाई सामाजिक सुरक्षा योजना भित्र समेट्नका लागि सम्झौतापत्रमा हस्ताक्षर गरेपछि सो पालिका कर्णालीकै पहिलो पालिका बनेको हो ।

‘कर्णाली प्रदेशको श्रमिकका हकअधिकार स्थापनाको एउटा महत्वपूर्ण ऐतिहासिक दिन स्थापित गरेका छौं,’ सम्झौतामा हस्ताक्षरका क्रममा गाउँपालिकाका अध्यक्ष बोधविक्रम जिसीले भने, ‘योगदानमा आधारित सामाजिक सुरक्षा योजना अन्तर्गत अनौपचारिक क्षेत्रमा पहिलो चरणमा ५० जनालाई समेट्दै ३ सयको हाराहारीमा रहेका सबै श्रमिक मजदुरलाई कार्यक्रममा समेटिनेछ ।’

उनले सामाजिक सुरक्षा कोषमा कृषि, निर्माण, यातायात तथा घरेलु श्रमिकलाई समेत अभिमुखिकरण कार्यक्रम मार्फत आवद्धतता गरिने बताए । साथै उनले सरकारी कार्यालयमा रहेका करार र ज्यालादारीमा रहेका कर्मचारीलाई समेत कोषमा आवद्ध गर्दै जाने बताए ।

कार्यक्रमका दौरान कोषका निर्देशक उत्तमराज नेपालले कर्णाली प्रदेशमा हालसम्म २ सय ५६ जना रोजगारदाता र १ हजार ५ सय ४७ जना योगदानकर्ता कोषमा आबद्ध रहेको जानकारी दिए ।

यसैवीच कर्णाली प्रदेश भित्रका सामाजिक सुरक्षा कोषमा आवद्ध भएका योगदानकर्तालाई स्वास्थ्य सुविधा प्रदान गर्ने उद्देश्यले सोमबार नै कोष र देउती अस्पताल सुर्खेतवीच सम्झौता भएको छ । देउती अस्पताल कर्णाली प्रदेशमै कोषका योगदानकर्तालाई स्वास्थ्य सेवा प्रदान गर्ने पहिलो अस्पताल समेत बनेको छ ।


क्लिकमान्डु