सेनाको रिपोर्ट हेर्दा फास्ट ट्र्याक होइन कछुवा ट्र्याक देखियो: रवि लामिछाने



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापित समेत रहेका प्रतिनिधि सभा सदस्य रवि लामिछानेले नेपाली सेनाले बनाइरहेको द्रुत मार्गको काम कछुवा गतिमा अघि बढिरहेको टिप्पणी गरेका छन् ।

बुधवार राज्य व्यवस्था समितिको बैठकमा सांसद लामिछानेले सेनाले पेस गरेको प्रगति रिपोर्टमाथि असन्तुष्टि जनाउँदै फास्ट ट्र्याक चिप्लेकिरा गतिमा अघि बढिरहेको देखिएको जनाए ।

‘राज्यले सोचेको सेनाको परिकल्पना र भूमिकाबारे हामी गम्भीर छौँ । तर ठेक्कापट्टाबारे निर्मम भएर छलफल गर्नुपर्छ । अहिले सेनाले पेस गरेको रिपोर्ट हेर्दा फास्ट ट्र्याक होइन चिप्लेकिरा ट्र्याक वा कछुवा ट्र्याक भन्नुपर्छ’ लामिछानेले भने ।

सेनाको आफ्नै क्षमता २२ किलोमिटर सडक मात्रै खोल्ने देखिएको बताउँदै बाँकी काम सेनाले अरु कम्पनीलाई दिएको पाइएको बताए । उनले सेना मूल ठेकेदार र अन्य पेटी ठेकेदार जस्तो देखिएको बताए ।

सेनाको रिपोर्टमा ट्रान्सफर्मर जडानमा प्राधिकरणलाई १८ करोड तिरेको देखिएको भए पनि महालेखाले यो खर्च सम्बन्धितलाई नै तिराउने भनेको बताए ।

लामिछानेले आर्थिक चलखेल गर्न सजिलो हुने भएर ठूला आयोजना सेनालाई दिएको हो भन्दै प्रश्न गरे । सेनामा हुने अनियमितता अख्तियार लगायतले हेर्न नपाउने र सैनिक ऐनअनुसार हुने भएपछि भ्रष्टाचारको ढापछोप हुने हो कि भन्दै प्रश्न गरे ।

‘तर आर्थिक चलखेल गर्न सजिलो हुन्छ भनेर यस्ता ठुला आयोजना सेनालै दिइएको हो ? सेनामा हुने अनियमितता सैनिक ऐनअनुसार हुने रहेछ। तर अख्तियार, सतर्कता केन्द्रले हेर्न नपाउने रहेछ। सेना आफैले भ्रष्टाचार छानबिन गर्ने भएपछि ठुला भ्रष्टाचारको ढाकछोप भएको हो कि ?’ उनले प्रश्न गरे ।


क्लिकमान्डु