सुक्खा बन्दरगाहमा भन्सारको सर्च अभियान, ५ वर्षदेखि थन्किएका ३८० कन्टेनरमा उच्च मूल्यका वस्तु फेला



काठमाडौं । सुक्खा बन्दरगाह भन्सार कार्यालयको यार्ड र गोदाममा विभिन्न पैठारीकर्ताले आयात प्रतिवन्ध रहेका र एउटा वस्तुलाई अर्कै भनि ल्याएर लुकाएका शंकास्पद वस्तुहरू रहेको सूचना पाएपछि भन्सार विभागले सर्च अभियान तीब्र पारेको छ।

विभागका शाखा अधिकृत मधु खनालको नेतृत्वमा रहेको टोलीले पहिलो चरणमा सन् २०१८ देखि थन्किएर रहेका ६० दिन नाघेका भन्सार गोदाम र यार्डमा रहेका वस्तुहरू रहेका करिव ३८० कन्टेनरहरू खोलेर चेकजाँचको काम सुरु गरेको छ ।

हालसम्म १८३ कन्टेनरहरूको चेकजाँच सम्पन्न गरेको विभागले जनाएको छ ।

चेकजाँच गरिएका कन्टेनरहरूमा आयात प्रतिवन्ध रहेका र उच्च भन्सार महसुल भएका रक्सी, सुपारी, पोस्तादाना, छोकडा, केराऊ, कपडा, फिड सप्लिमेन्ट, टायर सिलेन्ट, फ्लोरिङ, फ्रिज, इलेक्ट्रिक स्कुटर, औद्योगिक मेसिनरी, मासको दाल लगायतका मालवस्तुहरू फेला परेको विभागले जनाएको छ ।

भन्सार स्रोतका अनुसार विगतमा बढी भन्सार महसुल लाग्ने वस्तु र आयात प्रतिवन्ध रहेका वस्तुहरुलाई कम भन्सार लाग्ने अर्कै वस्तु भनि भन्सारबाट छुटाउने गरेको पाइएको भन्सार विभाग स्रोत बताउँछ ।

भन्सारमा कमजोर नेतृत्व भएको समयमा भन्सार छुटाउने गरि त्यस्ता सामग्रो बेवारिसे बनाइ राखिएको विभाग स्रोतको भनाइ छ।

टोली खटाइ पुन:भौतिक परीक्षण गर्न थालेपछि एउटा वस्तुलाई अर्कै भनी घोषणा गर्ने प्रवृत्तिमा नियन्त्रण आएको कारण भन्सारमा आयात प्रतिवन्ध रहेका र एउटा वस्तुलाई अर्कै भनी ल्याएका मालवस्तु घोषणा नगरी भन्सारमा कमजोर नेतृत्व भएको बखत भन्सार छुटाउने गरि बेवारिसे बनाइ राखेको पाइएको विभागको भनाइ छ ।

यस्ता मालवस्तु ल्याउने पैठारीकर्ताको पहिचान गरी दोषी माथि हदै सम्मको कारवाही गरिने भन्सार विभागको उच्च स्रोत बताउँछ ।

पछिल्ला दिनमा भन्सार विभागको नेतृत्व भन्सार बाट हुन सक्ने गलत क्रियाकलाप नियन्त्रण गर्न कडा रुपमा प्रस्तुत भएको छ ।

६० दिनभन्दा बढी अवधिदेखि रहेका सबै प्रकारका मालवस्तु जफत गरी लिलाम गर्न र शंकास्पद कन्साइनमेन्टमा कडा निगरानी राख्न सबै भन्सार कार्यालयहरू लाई निर्देशन दिएको विभागले जनाएको छ ।

अनलाइनको माध्यमबाट हुने प्रत्यक्ष अनुगमन कार्यलाई प्रभावकारी बनाई बिदाको दिनमा र कार्यालय समय अगाडि पछाडि समेत सबै भन्सार कार्यालयको अनुगमन गर्ने कार्यको थालनी गरिएको विभागले जनाएको छ ।

अनुगमनको क्रममा भन्सार मूल्यांकन, वस्तु वर्गीकरण र मालवस्तुको घोषणामा कुनै कैफियत देखिएमा तत्काल भन्सार ऐन अनुसार कारवाही गर्न लगाउने गरिएको छ । यसरी अनुगमन गर्दा गम्भिर राजस्व छली हुन सक्ने देखिएमा त्यस्ता कन्साइनमेन्ट रोकी विभागबाटै छड्के परीक्षणको लागि टोली पठाउने गरेको विभागका अधिकारी बताउँछन् ।

भन्सार नियन्त्रणलाई प्रभावकारी बनाउन सूचना प्रविधिको प्रयोगलाई पूर्ण उपयोग, भन्सार जाँचपासमा जोखिम व्यवस्थापनको प्रयोग, नियमित प्रणाली परीक्षण गरी कुनै कैफियत देखिएमा वर्ष भरिकै छुट रकम असुली र राजस्व चुहावटमा कुनै कर्मचारी संलग्न देखिएमा तत्काल जिम्मेवारीबाट हटाउने जस्ता नीति अवलम्बन गरिएको र यसको परिणाम स्वरुप २०८० मंसिर महिनामा आयात व्यापार अघिल्लो वर्षको तुलनामा २.३ प्रतिशतले घट्दा पनि राजस्व संकलन १९.२ प्रतिशतले बढेको देखिएको विभागको भनाइ छ ।


क्लिकमान्डु