सीएनआईका पूर्वअध्यक्ष हरिभक्तको देउराली जनताले एकै वर्षमा गर्यो २ अर्बको व्यापार
काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई)का पूर्वअध्यक्ष हरिभक्त शर्माको देउराली जनता फर्मासिटिकलले एकै वर्ष करिब २ अर्ब रुपैयाँको व्यापार गरेको छ । कम्पनीले सन् २०२३ मा १ अर्ब ८६ करोड ३५ लाख रुपैयाँ (अपरिष्कृत) को व्यापार गरेको हो ।
कम्पनीले सन् २०२२ मा १ अर्ब ७० करोड ५५ लाख रुपैयाँ, सन् २०२१ मा १ अर्ब ४६ करोड ९१ लाख रुपैयाँ, सन् २०२० मा १ अर्ब १९ करोड ६४ लाख रुपैयाँ र सन् २०१९ मा १ अर्ब ५३ करोड ४५ लाख रुपैयाँको व्यापार गरेको थियो ।
सन् १९९१ मा स्थापना भएको कम्पनीले विभिन्न प्रकारका औषधी उत्पादन गरी बजारमा बिक्री वितरण गर्दै आएको छ । कम्पनीले कार्डियोभास्कुलर, डाइबेटिज, गाइनोकोलोजी र चाइल्ड केयर, ग्यास्ट्रोलोजी र हेपाटोलोजी, डर्माटोलोजी एल्मेन्ट र अन्य विभिन्न प्रकारका रोगको औषधी उत्पादन गर्दै आएको छ ।
२५० वटाभन्दा बढी प्रकारका औषधी उत्पादन गर्दै आएको कम्पनीले जनाएको छ । हरिभक्त शर्मा अध्यक्ष रहेको कम्पनीमा उनको ७१ प्रतिशत हिस्सा छ भने बाँकी सेयर उनका परिवार र अन्य सदस्यको छ ।
कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि १ अर्ब १७ करोड ५६ लाख रुपैयाँको रेटिङ गराएको छ । देशभर दुई सय बढी वितरक रहेको कम्पनीको व्यापारमा कोभिडले गर्दा उच्च प्रभाव परेको थियो । तर, सन् २०२१ देखि व्यापार रिबाउन्ड हुँदै हरेक वर्ष कारोबार बढेको उल्लेख छ ।