प्रधानमन्त्रीलाई प्रश्न गरेर बालेन हिँडेपछि रिसाए प्रचण्ड (भिडिओसहित)



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बागमती नदी हस्तक्षेप, तीनकुने हस्तक्षेप वा काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा आफूले जति पहल गर्ने अर्को प्रतिनिधि नभएको दाबी गरेका छन् ।

सोमबार ललितपुर महानगरको कार्यक्रममा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले प्रधानमन्त्री गृहमन्त्रीले चाहे नदी आसपासको क्षेत्रमा अव्यवस्थित बसोबास लगायतका काम पाँच मिनेटमा सम्बोधन हुने बताएपछि त्यसको जवाफ प्रधानमन्त्रीले दिएका हुन् ।

आफू काठमाडौंको फोहोर व्यवस्थापन लगायतका कुरामा रचनात्मक रहेको बताउँदै प्रधानमन्त्री दाहालले व्यवस्थापनका लागि गरेको पहललाई स्वीकार्न किन नसकेको भन्दै मेयर साहलाई प्रश्न गरे ।

‘उहाँले भन्नुभयो यहाँबाट निस्किने बित्तिकै हुन्छ, म बालेन्द्रजीलाई के भन्न चाहन्छु भने बालेन्द्र जी तपाईले चाहे त्यो वागमतीमा बसेको हस्तक्षेपको कुरालाई लिएर होस् वा तीनकुनेको कुरालाई लिएर होस् वा फोहोरमैला व्यवस्थापनको निम्ति काठमाडौं उपत्यकाभित्र मिलेर काम गर्ने बारेमा कति पटक सिंहदरबारमा बैठक भयो, के अहिलेको प्रधानमन्त्री जत्तिकै सकारात्मक र रचनात्मक ढंगले यो समस्या समाधान गर्न समन्वय गरेको अर्को कसैले देख्नुभएको छ,’ प्रधानमन्त्रीले भने,’तपाई त्यसलाई रिकोग्नाइज गर्न किन डराउनुहुन्छ । तपाई काठमाडौं महानगरको मेयर भएको नाताले उपत्यकाका अरु नगरपालिकालाई समन्वयन गर्ने बढी जिम्मेवारी छ । मैले बढी सहयोग तपाईलाई गर्छु भनेर भनेको कुरा गर्न केले रोक्यो ? प्रधानमन्त्रीले बल गरिरहेको छ भन्न केले रोक्यो ?’

प्रधानमन्त्री दाहालले पूर्वाधार निर्माण मात्रै विकास नभएकाले जनताको जीवनमा सुखको प्रत्याभुति गराउन आवश्यक रहेको बताए ।

प्रधानमन्त्रीभन्दा अघि बोलेका मेयर शाह कार्यक्रम सकिनु अघि नै हलबाट बाहिरिएका थिए । प्रधानमन्त्रीलाई प्रश्न गरेका शाहले जवाफ नै नसुनि बाहिरिएपछि दाहाल रिसाएका थिए ।

‘बालेन्द्रजी गइहाल्नुभयो पहिला बोलेर हिँडिहाल्नेसँग पनि मलाई अलि इरिटेसन हुन्छ । आफूलाई लागेको कुरा भनिहाल्ने अनि त्यसको जवाफ सुन्न चाहिँ नबस्ने, बस्नुपर्छ प्रमुख अतिथिले बोल्ने बेलासम्म’ प्रधानमन्त्रीले सम्बोधनको क्रममा भने ।


क्लिकमान्डु