‘वैदेशिक रोजगारीमा गएका श्रमिकलाई मताधिकार दिएमात्रै उनीहरुका मुद्दा सम्बोधन हुन्छन्’



काठमाडौं । वैदेशिक रोजगारीमा गएका श्रमिकहरुलाई मताधिकार दिएमात्रै राजनीतिक दलका नेताहरुले उनीहरुका मुद्दा सम्बोधन गर्नसक्ने सरोकारवालाहरुले बताएका छन् ।

सोमबार ललितपुरमा भएको वैदेशिक रोजगारीको उज्यालो र अध्याँरो पाटो विषयक सडक बहसमा सरोकारवालाहरुले यस्तो बताएका हुन् ।

उनीहरुले कार्यरत स्थानबाट मतदान गर्ने अधिकार भयो भने मात्रै राजनीतिक पार्टीहरुले श्रमिकका मुद्दामा बोल्न सुरु गर्ने बताए । कार्यक्रममा बोल्दै ट्रेड युनियन कांग्रेसका अध्यक्ष योगेन्द्र कुँवरले वैदेशिक रोजगारीको रुपमा विभिन्न शहरमा गएर काम गर्नेहरुलाई मताधिकार दिएमात्रै राजनीतिक पार्टीहरुले उनीहरुका मुद्दा सुन्ने बताए । वैदेशिक रोजगारीमा गएका श्रमिकहरुले पठाएको रेमिट्यान्स सही ठाउँमा प्रयोग हुन नसकेको उनको भनाइ छ ।

कार्यक्रममा रोजगार व्यवसायी राजेन्द्र भण्डारीले श्रमिकलाई सीपयुक्त बनाएर पठाउनसके थोरै संख्यामा गएर धेरै रेमिट्यान्स आउने बताए । उनले वदेशमा गएका श्रमीकहरुबाट आएको रेमिट्यान्स रोजगारमुलक क्षेत्रमा लगाउन आवश्यक रहेको बताए।

रोजगार व्यवसायी भण्डारीले बाक्लो संख्यामा कामदार पठाएका मुलुकमा श्रम सम्झौता गरी दुतावास खोल्ने, कामदार पठाउने काममा लाग्नुपर्ने र श्रमीकको सुरक्षित आप्रवासनको लागि जिम्मेवार हुनुपर्ने बताए ।


क्लिकमान्डु