सुजल फुड्सले एकै वर्ष गर्‍यो २ अर्बको व्यापार



काठमाडौं । सुजल फुड्स प्रालिले एकै वर्ष २ अर्ब बढीको व्यापार गरेको छ । कम्पनीले सन् २०२३ मा २ अर्ब ३ करोड ८० लाख रुपैयाँको व्यापार गरेको हो ।

कम्पनीले सन् २०२२ मा १ अर्ब ८९ करोड २० लाख रुपैयाँ, सन् २०२१ मा १ अर्ब ८० करोड ५० लाख रुपैयाँ, सन् २०२० मा १ अर्ब ४६ करोड ६० लाख रुपैयाँ र सन् २०१९ मा १ अर्ब ४० करोड ७० लाख रुपैयाँको व्यापार गरेको थियो ।

कम्पनीको व्यापारको तथ्याङ्क हेर्दा हरेक वर्ष कारोबार बढ्दै गएको देखिन्छ । सन् २०२३ सम्ममा कम्पनीको व्यापार वार्षिक ८ प्रतिशतले वृद्धि भएको जनाएको छ ।

सन् १९९५ मा स्थापना भएको कम्पनीले विभिन्न प्रकारका चकलेट, क्यान्डीस, टोफी, वेइफर, ललीपप र अन्य विभिन्न प्रकारका मिठाइ उत्पादन गर्दै आएको छ । कम्पनीले चोको फन ब्राण्डको कोका बेस्ड वाइफर बिक्री वितरण गर्दै आएको छ ।

देशभर २३० भन्दा बढी डिलर रहेको कम्पनीले पोखराबाट विभिन्न वस्तु उत्पादन गरी बिक्री वितरण गर्दै आएको छ । लक्ष्मी ग्रुपद्वारा सञ्चालित कम्पनीमा गणेशबहादुर श्रेष्ठ, सुनिल श्रेष्ठ, अन्जन श्रेष्ठ, निरन्जन श्रेष्ठ र निराकार श्रेष्ठको १७/१७ प्रतिशत हिस्सा छ । बाँकी १५ प्रतिशत अन्य तीन जना शेयरहोल्डरका छन् ।

त्यस्तै, कम्पनीले अल्पकालीन तथा दीर्घकालीन कर्जाका लागि ८८ करोड ७७ लाख रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले चोको फन ब्रान्डको वेइफर, रसिलो र फ्रेसो ब्राण्डमा क्यान्डी उत्पादन गर्दै आएको छ । त्यससँगै, कम्पनीले इक्लियर, लब बर्डस् ब्राण्डको टफी र स्मार्ट ब्राण्डमा ललीपप उत्पादन गर्दै आएको छ ।

कम्पनीले उक्त वस्तु उत्पादनका लागि कोका र पाम फ्याटजस्ता कच्चा पदार्थ विभिन्न देशबाट आयात गर्दै आएको छ ।


क्लिकमान्डु