सेवा लम्साल बनिन् नेपालको पहिलो महिला परराष्ट्र सचिव



काठमाडौँ । सरकारले परराष्ट्र मन्त्रालयकी सहसचिव सेवा लम्साललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ । बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बसेको मन्त्रिपरिषद् बैठकले लम्साललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो ।

बढुवासँगै लम्साल परराष्ट्र मन्त्रालयको सचिवमा पदस्थापन भएकी छिन् । मन्त्रालयमा सबैभन्दा वरिष्ठ सहसचिव भएकी कारण परराष्ट्र सचिव भरतराज पौड्याल गत साता अनिवार्य अवकाशमा गएसँगै रिक्त हुन पुगेको सचिव पदमा मन्त्रालयकी प्रवक्तासमेत रहेकी सहसचिव लम्सालको एकल सिफारिस भएको थियो । क्यानडाका लागि राजदूत नियुक्त भएका पौड्यालले मंसिर १९ गते अवकाश पाएका हुन् ।

यससँगै सचिव लम्सालले परराष्ट्र मन्त्रालयको पहिलो महिला सचिवको इतिहाससमेत बनाएकि हुन् । सन् १९४८ मा पहिलो परराष्ट्र सचिव सरदार नरेन्द्रमणि आचार्य दीक्षितदेखि पछिल्लो सचिव भरतराज पौड्यालसम्म ७२ वर्षमा २४ जना सचिवले परराष्ट्रको प्रशासनिक कमाण्ड सम्हालेका थिए । तर, २५औँ सचिवका रूपमा सेवा लम्सालले पहिलो महिला सचिवका रूपमा इतिहास पनि बनाइन् ।

२०५५ सालमा शाखा अधिकृतका रूपमा निजामती सेवामा प्रवेश गरेकी लम्साल परराष्ट्रको उपसचिव हुँदै २५ वर्ष पुग्नै लाग्दा परराष्ट्र सचिव बनेकी हुन् ।

पछिल्ला वर्षहरुमा महिलाहरू निजामतीतन्त्रको विशिष्ट श्रेणीमा पुग्नु सामान्य हुन थालेको छ ।

जैसी कोठा, मुन्सी खाना आदिका नामले चिनिएको अड्डालाई राणाकालको अन्तिम समयतिर विदेश मामिला हेर्ने निकायको रुपमा ‘परराष्ट्र विभाग’ मा रुपान्तरित गरिएको थियो । तर, राणा शासनको अन्त्यपछि भने यस अड्डाले मन्त्रालयको रुप पायो ।

पहिलो ‘परराष्ट्रमन्त्री’ प्रधानमन्त्री श्री ३ मोहन शमशेर आफै बनेृका थिए भने राणाकालदेखि नै परराष्ट्र मामिलाको जिम्मेवारी सम्हाल्दै आएका सरदार नरेन्द्रमणि आचार्य दीक्षितलाई परराष्ट्र सचिव भए । २०१७ सालसम्ममा नरेन्द्रमणि आचार्य दीक्षित, रामप्रसाद मानन्धर, शोभागजङ्ग थापा र नरप्रताप शमशेर थापा परराष्ट्र सचिव भए ।

२०१७ पालपछि पञ्चायतको कालखण्डमा यदुनाथ खनाल, पद्मबहादुर खत्री, झरेन्द्रनारायण सिंह, भरतराज राजभण्डारी, उद्धवदेव भट्ट, जगदीश शमशेर राणा, विश्व प्रधान र नरेन्द्रविक्रम शाह गरि आठ जना परराष्ट्र सचिव भए ।

तर, २०४६ सालको राजनीतिक परिवर्तनदेखि हालसम्म यादवकान्त सिलवाल, केदारभक्त श्रेष्ठ, कुमारप्रसाद ज्ञवाली, नारायण शमशेर थापा, मुरारीराज शर्मा, मधुरमण आचार्य, ज्ञानचन्द्र आचार्य, डा मदनकुमार भट्टराई, दुर्गाप्रसाद भट्टराई, अर्जुनबहादुर थापा, शंकरदास बैरागी र भरतराज पौड्याल गरि १२ जना सचिवले परराष्ट्र मन्त्रालयको नेतृत्व गरे ।

पहिलो महिला परराष्ट्र मन्त्रीका रूपमा २००७ सालमा सहाना प्रधानले इतिहास रचेको थिइन् भने त्यसपछि सुजाता कोइराला र विमला राई पौड्यालले महिला परराष्ट्र मन्त्रीका रूपमा आफनो जिम्मेवारी सम्हाली सकेका छन् ।

यसैगरि, विन्देश्वरी शाह नेपालको पहिलो महिला राजदूत (भारत) बनेकि थिइन् ।


क्लिकमान्डु