चीनमा भैंसीको मासु निर्यात गर्न सरकारले थाल्यो तयारी
काठमाडौं । सरकारले पकाएको भैंसीको मासु (कुक्ड बफेलो मिट) चीन निर्यात गर्न आवश्यक प्रक्रिया सुरु गरेको छ । चीनमा भैंसीको मासु निर्यात गर्न आवश्यक प्रक्रिया कृषि तथा पशुपन्छी विकास मन्त्रालयले अघि बढाएको हो ।
गत असोज ६ देखि १३ सम्म चीनको भ्रमण गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चीन सरकार प्रमुखले संयुक्त रुपमा जारी गरेको नेपाल-चीन संयुक्त विज्ञप्तिमा कुक्ड बफेलो मिट चीन निर्यात गर्ने विषय परेको थियो । उक्त विषयलाई कार्यान्वयनमा लैजान मन्त्रालयले आवश्यक तयारी गरेको सहप्रवक्ता डा. तपेन्द्रप्रसाद बोहराले जानकारी दिए ।
आवश्यक तयारी गर्ने क्रममा चीनको जर्नल एड्मिनिष्ट्रेसन अफ कस्टमले सरकारलाई १५० पृष्ठको जोखिम विश्लेषण (रिस्क एनालाइसिस एसेसमेन्ट) सम्बन्धी कागजात पठाएको छ । यो कागजातको आधारमा कृषि मन्त्रालयले आवश्यक तयारी सम्पन्न गरी दुई साताभित्र परराष्ट्र मन्त्रालयमार्फत चीनलाई जवाफ पठाउनेछ ।
‘चीन सरकारले मासु आयात गर्नुभन्दा पहिले केही महत्वपूर्ण विषयमा आवश्यक जानकारी उपलब्ध गराउन १५० पृष्ठको जानकारी माग गरेको छ, यसमध्ये केही विषयवस्तु खाद्य गुणस्तरसम्बन्धी छन्, केही गुणस्तर तथा नापतौल विभागसँग सम्बन्धित छन्,’ बोहराले भने, ‘केही वाणिज्य विभाग र केही पशु सेवा र स्वास्थ्यसँग जोडिएका छन् । यसबाहेक जीवनाशक विषादी, हर्मोन, एन्टिबायोटिक औषधी, रोग, बधशाला, पशु स्वास्थ्यलगायतका विषयमा पनि उनीहरुले जानकारी माग गरेका छन्, चीनले माग गरेअनुसारको विवरण मन्त्रालयले द्रुतगतिमा तयार पारिरहेको छ ।’
सरकारले पठाउने विवरणका आधारमा चिनियाँ टोली नेपाल आएर भैसीपालनको अवस्था र मासु प्रशोधनको अवस्थाको विषयमा स्थलगत जानकारी लिने । यी सबै प्रक्रिया सफल भएको र मासु रोग र जोखिमरहित भेटिएको अवस्थामा चीन र नेपालबीच मासु निर्यात गर्ने विषयमा प्रोटोकलमा द्विपक्षीय सम्झौता हुनेछ ।
‘सम्झौता भएपछि बल्ल नेपालबाट चीनमा बफेलो मासु निर्यात गर्न औपचारिक बाटो खुल्नेछ,’ क्लिकमान्डुसँग बोहराले भने, ‘चीनमा बफेलो मासु निर्यात गर्ने विषय हाम्रो लागि ठूलो अवसर पनि हो । यो बाटो खुलेमा केही हदसम्म कृषिजन्य वस्तुको आयातका कारण हुने व्यापार घाटा पनि कम गर्न सकिने विश्लेष्ण छ ।’
मन्त्रालयका अनुसार चीनबाट मासुका लागि आउने मागअनुसार नेपालका व्यवसायी निर्यात गर्न तयारी अवस्थामा बसेका छन् । मुख्यगरी बाराको बफेलो मिट उद्योगले चीनको मागअनुसार तयारी मासु निर्यात गर्न इच्छा जनाइरहेका छन् । यो उद्योगले हाल भियतनाम र थाइल्यान्डमा बफेलो मिट निर्यात गर्दै आएको छ ।
नेपालको अर्थतन्त्रमा कृषि क्षेत्रअन्तर्गत धानपछिको सबैभन्दा बढी भैंसीको योगदान छ । मध्यपहाडी क्षेत्रका साथै मधेस प्रदेशसहित नवलपरासी, रुपन्देही, कपिलवस्तु, बाँके, बर्दिया, कैलाली, कञ्चनपुरलगायतका जिल्लामा व्यावसायिक भैंसीपालन भइरहेको मन्त्रालयले जनाएको छ ।