व्यापारीले ठूलो परिमाणमा लुकाए प्याज, सरकारलाई छैन चासो



काठमाडौं । कृत्रिम अभाव सिर्जना गरी व्यापारीले प्याजको कालोबजारी गर्दै आएको फेला परेको छ । व्यापारीले भारतबाट प्याज आयात नभएको बहानामा कृत्रिम अभाव सिर्जना गरी उच्च मूल्यमा बिक्री गर्दै आएको तथ्य फेला परेको हो ।

नेपाल कृषि उपज आलु प्याज आयात निर्यात थोक विक्रेता संघले गत मंगलबारदेखि भारतबाट प्याज आयात नभएको दाबी गरेको छ । प्याज आयात नहुँदा बजार मूल्य अत्यधिक बढेको संघको भनाइ छ ।

कालिमाटी बजारमा गएको आइतबार प्याज प्रतिकिलो १ सय रुपैयाँका दरले बिक्री भएको थियो । अहिले अभाव देखाएर उनीहरुले थोकमा प्रतिकिलो १४२ रुपैयाँका दरले बिक्री गरिरहेका छन् । खुद्रा पसलमा भने प्याज प्रतिकिलो २ सय रुपैयाँसम्ममा बिक्री भइरहेको छ ।

‘मंगलबारदेखि हामीले मूल्य अभिवृद्धि शुल्कको विरोधमा आन्दोलन सुरु गरेका थियौँ,’ संघका महासचिव प्रकाश गजुरेलले भने, ‘त्यो आन्दोलनका कारण मंगलबारदेखि नै भारतबाट प्याज आयात भएको छैन । हाम्रो आन्दोलन दोस्रो दिनमा चल्दै गर्दा भारतले निर्यातमा प्रतिबन्ध लगायो । आन्दोलन र प्रतिबन्धका कारण मंगलबारदेखि प्याज आयात भएको छैन ।’ स्टक भएको प्याजसमेत सकिएको उनको दाबी गरे ।

गजुरेलले त्यस्तो दाबी गरिरहँदा शनिबारसम्म औपचारिक बाटोमार्फत पर्याप्त परिमाणमा प्याज नेपाल भित्रिएको तथ्य फेला परेको छ । शनिबारसम्म भैरहवाको बेलहिया भन्सार कार्यालय, काँकडभिट्टाको मेची भन्सार कार्यालय र पर्साको वीरगन्ज भन्सार कार्यालयमार्फत ४ हजार ४०३ टन प्याज आयात भएको छ । त्यसयता भने प्याज आयात नभएको भन्सार कार्यालयका प्रमुखहरुले जानकारी दिएका छन् ।

सीमा क्षेत्रसँग जोडिएका सहर बजारमा भने अनौपचारिक बाटोमार्फत योभन्दा बढी परिमाणमा प्याज भित्रिएको स्रोतले जनाएको छ । सीमा क्षेत्रका बासिन्दाले आफ्नै सवारी साधनमार्फत दैनिक ५ देखि १० किलोसम्म प्याज भित्र्याउने गरेका छन् । त्यसको तथ्यांक भन्सार कार्यालयहरुसँग हुँदैन ।

यसरी हेर्दा औपचारिक र अनौपचारिक बाटोबाट भित्रिएको प्याजले अझै केही समय बजार धान्न सक्ने बताइएको छ । व्यापारीले भनेजस्तो अहिले तत्कालै बजारमा प्याजको अभाव छैन । व्यापारीले पर्याप्त परिमाणमा प्याज लुकाएर राखेको प्राप्त तथ्यांकले देखाएको छ ।

रुपन्देहीको भैरहवास्थित बेलहिया नाकाबाट मंसिर १ देखि २३ सम्ममा १४ करोड ८३ लाख ३० हजार रुपैयाँको ३ हजार ६ सय ५२ टन प्याज भारतबाट आयात भएको भन्सार प्रमुख नारद गौतमले जानकारी दिए ।

‘बेलहिया नाकाबाट शनिबारसम्म ३५ सय टनभन्दा बढी परिमाणमा प्याज आयात भएको छ,’ उनले भने, ‘नेपालमा अधिकांश प्याज यही नाकाबाट भित्रिने हो ।’ उनका अनुसार आइतबारदेखि भने प्याज आयात भएको छैन ।

काँकडभिट्टा भन्सार कार्यालय प्रमुख रामप्रसाद रेग्मीका अनुसार साउनदेखि मंसिर २१ सम्म उक्त नाकाबाट १ करोड ८५ लाख रुपैयाँबराबरको ४२२ टन प्याज आयात भएको छ ।

त्यस्तै वीरगन्ज भन्सार कार्यालय प्रमुख डिलाराम पन्थीका अनुसार साउनदेखि कात्तिक ३० सम्म वीरगन्ज नाकाबाट ३२९ टन प्याज भित्रिएको छ ।

संघले मंगलबारदेखि प्याज आयात नभएको दाबी गरिरहँदा बेलहिया नाकाबाट भित्रिएको परिमाणले मंसिरको देशभरको माग धान्ने देखिन्छ ।

नेपालमा करिब ९५ प्रतिशत प्याज बेलहिया नाकामार्फत आउने गरेको छ । कपिलवस्तुको कृष्णनगर नाकामार्फत पहिले प्याज आयात हुने भए पनि भारतले ४० प्रतिशत शुल्क लगाएपछि आउन बन्द भएको भन्सार प्रमुख मानबहादुर पौडेलले जानकारी दिए ।

तथ्यांकअनुसार तत्कालका लागि प्याज अभाव हुने स्थिति छैन तर भारतले लगाएको प्रतिबन्धका कारण आयात रोकिँदा आगामी दिनमा भने अभाव चर्किने अवस्था सिर्जना भएको छ ।

दैनिक १४० टन खपत

नेपाल फलफूल तथा तरकारी व्यवसायी महासंघका अध्यक्ष खोमप्रसाद घिमिरेका अनुसार काठमाडौं उपत्यकासहित देशभर दैनिक १४० टन हाराहारी प्याज बिक्री हुन्छ ।

काठमाडौं उपत्यकामा मात्रै ३० टन, चितवन, हेटौंडा, बिर्तामोड, धरान, जनकपुर, वीरगन्ज, बुटवल, विराटनगर र पोखरामा १०-१० टन तथा अत्तरिया, महेन्द्रनगर, कोहलपुर र सुर्खेतमा ५-५ टन प्याज खपत हुन्छ । यी स्थानबाट आसपासका सम्पूर्ण ग्रामीण र सहरी क्षेत्रमा प्याजको बजारीकरण हुन्छ ।

स्वदेशमा १ लाख ६६ हजार टन उत्पादन

कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको राष्ट्रिय आलु, तरकारी तथा मसलाबाली विकास केन्द्रका अनुसार नेपाली बजारमा प्याजको माग वार्षिक ४ लाख १ हजार टन छ । तर, स्वदेशमा भने १३ हजार १८९ हेक्टर क्षेत्रफलबाट वार्षिक १ लाख ६६ हजार ९ सय ४ टनमात्र प्याज उत्पादन हुन्छ ।

नेपालमा वार्षिक २ लाख ३४ हजार ९६ टन प्याजको अभाव हुन्छ । यो अभाव पूर्ति गर्न व्यापारीले प्रमुख गरी भारतबाट आयात गर्दै आएका छन् ।

यसबाहेक चीन, इजिप्ट, इन्डोनेसिया र टर्कीबाट पनि प्याज भित्रिन्छ । वर्षको ६ अर्बसम्म प्याज आयात भइरहँदा तालुकदार कृषि तथा पशुपन्छी मन्त्रालयले भने प्याज उत्पादन बढाउने र आयात प्रतिस्थापन गर्ने कुनै कार्यक्रम सञ्चालनमा ल्याउन सकेको छैन ।

चैतसम्म भारतीय प्याजमा प्रतिबन्ध

भारतको विदेश व्यापार महानिर्देशनालयले गत शुक्रबार (मंसिर २२ गते) देखि चैत १८ गते (३१ मार्च २०२४) सम्मका लागि प्याज निर्यातमा प्रतिबन्ध लगाएको छ ।

निर्वाचनको क्रममा घरेलु बजारमा हुने महँगीलाई नियन्त्रण रेखाभित्र राखेर प्याजको नियमित आपूर्ति र सहज उपलब्धताका लागि प्रतिबन्ध लगाएको महानिर्देशनालयले जनाएको छ । यसअघि भारतले गत अगस्टमा प्याजको निर्यात शुल्कमा ४० प्रतिशत कर लगाएको थियो । वृद्धि भएको यो शुल्क ३१ डिसेम्बर (पुस १५ सम्म) कार्यान्वनयमा रहनेछ । भारतमा सन् २०२४ अप्रिल र मे महिनामा लोकसभाको निर्वाचन हुँदै छ ।

भारतले अहिले प्याजको निर्यातमा प्रतिबन्ध लगाए पनि कूटनीतिक माध्यमबाट कुनै मुलुकले माग गरेको अवस्थामा उपलब्ध गराउन सकिने विशेष व्यवस्था गरेको छ । यस्तै सिपमेन्ट भएको, सिपमेन्टका लागि बिलिङ भइसकेको, प्याज लोड गर्न बन्दरगाहमा जहाज लागिसकेको र भन्सार कार्यालयसम्म पुगिसकेको हकमा भने निर्यात गर्न दिनेछ ।

आयातमा पहल नगर्ने मनस्थितिमा सरकार

नेपालमा करिब ९७ प्रतिशत प्याज भारतबाट आयात हुन्छ । भारतले निर्यातमा प्रतिबन्ध लगाएका कारण केही महिनापछि नेपाली बजारमा प्याजको चर्को अभाव सिर्जना हुने निश्चित छ ।

भारतले निर्यातमा प्रतिबन्ध लगाए पनि कूटनीतिक रुपमा कुनै मुलुकले माग गरेमा उपलब्ध गराउने बाटो खुला राखे पनि नेपाल सरकारले भने आयातका लागि पहल नगर्ने संकेत देखाएको छ ।

यसअघि भारतले चिनी, बासमती चामलबाहेक अन्य चामल र गहुँको निर्यातमा पनि प्रतिबन्ध लगाएको थियो । सरकारले चिनी, बासमती चामलबाहेक अन्य चामल र गहुँ उपलब्ध गराइदिन कूटनीतिक माध्यमबाट धेरै पटक प्रयास गरे पनि भारतले वास्ता गरेन ।

‘भारतले अन्य मुलुक नबिच्किउन् भनेर कूटनीतिक माध्यमबाट उपलब्ध गराउने भनेको हुनसक्छ,’ उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका एक उच्च अधिकारीले भने, ‘तर उपलब्ध भने गराउँदैन । हामीले गहुँ, चामल र चिनी उपलब्ध गराइदेऊ भनेर पटक-पटक छलफल र पत्राचार गर्‍यौँ तर महिनौं बित्दा पनि भारतले  वास्ता गरेको छैन, यो घटनाक्रमबाट पाठ सिकेर प्याजका लागि कूटनीतिक पहल नगर्दा राम्रो हुन्छ भन्ने हाम्रो बुझाइ छ ।’


राजेश बर्मा