अर्थ मन्त्रालयले तोक्यो ५ सहसचिवको जिम्मेवारी, १ जनाको आन्तरिक सरुवा



काठमाडौं । अर्थ मन्त्रालयले ५ जना सहसचिवको जिम्मेवारी तोक्दा १ जनालाई आन्तरिक सरुवा गरेको छ ।

अर्थ मन्त्री डा. प्रकाश शरण महतले विगत साढे ४ महिनादेखी जिम्मेवारी नपाएका र गत साता मन्त्रालयमा सरुवा भएर आएका ३ जना सहसचिवलाई जिम्मेवारी दिएका हुन् ।

यस्तै, मन्त्री महतले महालेखा नियन्त्रक कार्यालयका सहमहालेखा नियन्त्रक शम्भुप्रसाद मरासिनीलाई आन्तरिक सरुवा गर्दै भन्सार जाँचपास कार्यालयको जिम्मेवारी दिएका छन् ।

गत साउनमा ठूला करदाता कार्यालयबाट अर्थ मन्त्रालयमा सरुवा भएका राजेश्वर ज्ञवालीलाई साढे ४ महिनापछि विभागीय जिम्मेवारी दिइएको छ । ज्ञवालीलाई महालेखा नियन्त्रक कार्यालयमा लगिएको छ ।

यस्तै, साढे २ महिना अघि बागमति प्रदेशको अर्थ सचिवबाट अर्थ मन्त्रालयमा सरुवा भएका महेश आचार्यलाई प्रशासन महाशाखाको जिम्मेवारी दिईएको छ । अर्थ मन्त्रालयको प्रशासन महाशाखा प्रमुख रहेका आनन्द काफ्ले गृह मन्त्रालयमा सरुवा भएपछि उक्त महाशाखा रिक्त थियो ।

यस्तै, लगानी बोर्ड, नेपालबाट अर्थ मन्त्रालयमा सरुवा भएका अमृत लम्साललाई मध्यम स्तरीय करदाता कार्यालयको जिम्मेवारी दिईएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट अर्थ मन्त्रालयमा आएकी पार्वति शर्मालाई आन्तरिक राजस्व विभागको उपमहानिर्देशकको जिम्मेवारी दिइएको छ ।

यस्तै, अर्थ मन्त्री डा. महतको रुची विपरित राष्ट्रिय योजना आयोगबाट अर्थ मन्त्रालयमा सरुवा भएका महेश बराललाई पूर्वमन्त्री विद्याधर मल्लीकको नेतृत्वमा गठन भएको उच्च स्तरीय कर प्रणाली सुधार समितिमा काम गर्ने गरी जिम्मेवारी दिइएको छ ।

तर, मन्त्री महतले ६ जना सहसचिवको जिम्मेवारी हेरफेर गर्दा समेत सार्वजिक ऋण व्यवस्थापन कार्यालयको जिम्मेवारी भने कसैलाई दिएका छैनन् ।


क्लिकमान्डु