ओशो वर्ल्ड ट्राभल नेपालले एकै वर्ष गर्यो ५ अर्ब बढीको कारोबार
काठमाडौं । ओशो वर्ल्ड ट्राभल नेपाल प्रालिले एकै वर्ष ५ अर्ब रुपैयाँभन्दा बढीको कारोबार गरेको छ । कम्पनीले सन् २०२२ मा ५ अर्ब ११ करोड ४० लाख रुपैयाँको कारोबार गरेको हो ।
कम्पनीले सन् २०२१ मा १ अर्ब २२ करोड ६० लाख, सन् २०२० मा २ अर्ब ९३ करोड २० लाख, सन् २०१९ मा ४ अर्ब २४ करोड ५० लाख र सन् २०१८ मा ३ अर्ब ६४ करोड २० लाख रुपैयाँको कारोबार गरेको थियो ।
तीन दशकदेखि अन्तर्राष्ट्रिय उडानको टिकट व्यवस्थापनका काम गर्दै आएको कम्पनी अन्तर्राष्ट्रिय एयरलायन्स एसोसिएसनको एजेन्ट हो । श्यामराज थपलियाको ९० प्रतिशत हिस्सा रहेको कम्पनीमा बाँकी हिस्सा भने श्रीमती राखी थपलियाको छ ।
कम्पनीले अल्पकालीन कर्जाका लागि ७० करोड रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले एफोर रेटिङ पाएको छ ।
कम्पनीका अनुसार कोभिडपछि पर्यटन चहलपहल बढ्दा यात्रा गर्नेको संख्या बढ्न गई व्यापार सकारात्मक देखिएको हो । साथै, कोभिडपछि विदेशमा रोजगारी, अध्ययन र कामका लागि जानेको संख्या उच्च हुँदा कम्पनीको कारोबारमा वृद्धि भएको उल्लेख छ ।