सेयर बजार १११ अंकले बढ्दा गुमाउने यी २ कम्पनीका लगानीकर्तामात्रै



काठमाडौं । सेयर बजार परिसूचक सकारात्मक सर्किट लागेर कारोबार समयअगावै बन्द हुँदा २ वटा कम्पनीका लगानीकर्ताले भने गुमाएका छन् ।

लगातार सर्किट लागेर करिब डेढ घन्टामा बजार बन्द हुँदा २२७ कम्पनीका लगानीकर्ताले कमाए भने कालिका लघुवित्त र उपकार लघुवित्तका लगानीकर्ताले भने गुमाएका छन् ।

आज ५ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने करिब ३० कम्पनीको सेयर मूल्य सर्किट लेबलमा कारोबार भएको छ । तर, लघुवित्त उपसमूह ५.६५ प्रतिशतले उकालो लाग्दा कालिका र उपकार लघुवित्तको सेयर मूल्य घटेको हो ।

दोस्रो बजारमा उपकारको ३ लाख ७१ हजार ५१८ कित्ता साधारण सेयर सूचीकृत छ भने कालिकाको १३ लाख २० हजार ९९८ कित्ता सूचीकृत छ । आज उपकारको अन्तिम कारोबार मूल्य ९५० रुपैयाँ प्रतिकित्ता रह्यो भने कालिकाको ५७९.७ रुपैयाँ रह्यो ।

कालिकाले आर्थिक वर्ष २०७८/७९ मा लगानीकर्तालाई २० प्रतिशत लाभांश दिएको थियो । कम्पनीले गत वर्षको नाफाबाट लाभांश घोषणा गरेको छैन । गत आवमा कम्पनीले ४ करोड ६२ लाख ४० हजार खुद नाफा कमाएको छ भने चालु आवको पहिलो त्रैमासमा कम्पनीले ५४ लाख ८० हजार कमाएको छ ।

त्यस्तै, उपकारले २०७८/७९ नाफाबाट लगानीकर्तालाई ६५ प्रतिशत लाभांश बाँडेको थियो । कम्पनीले गत वर्षको नाफाबाट भने लगानीकर्ताको हात खाली बनाएको छ । गत आवमा कम्पनीले २ करोड ३६ लाख ४० हजार रुपैयाँ खुद नाफा कमाएको छ भने चालु आवको पहिलो त्रैमासमा ३ करोड ३७ लाख ५० हजार घाटा व्यहोरेको छ ।

लगातार तेस्रो सर्किट लागेर कारोबार बन्द हुँदा नेप्से परिसूचक १११.२ अंकले बढेर १९६३.९८ अंकमा पुगेको छ । आज २४४ कम्पनीको १३ लाख ६७ हजार ६१५ कित्ता सेयर ४८ करोड २४ लाख ८२ हजार २३९ रुपैयाँको सेयर किनबेच भएको छ ।

कारोबार रकमका आधारमा माउन्टेन इनर्जी पहिलो स्थानमा रहेको छ । कम्पनीको ३ करोड ५८ लाख २५ हजार ८३३ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा सोनापुर मिनरल्स एण्ड आयल र नेपाल इन्स्योरेन्स कम्पनी रहेका छन् ।

आज सर्वाधिक मूल्य बढ्नेमा रिलायन्स फाइनान्स, जोशी हाइड्रोपावर, राप्ति हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन, शुभम पावर र कालिञ्चोक दर्शन छन् । सबै कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।


क्लिकमान्डु