निजी क्षेत्रद्वारा मौद्रिक नीतिको समीक्षाको स्वागत, कार्यान्वयनमा शंका



काठमाडौं । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिको पहिलो समीक्षाबाट निजी क्षेत्र सन्तुष्ट देखिएको छ । निजी क्षेत्रका प्रमुख दुई संस्था नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवालले मौद्रिक नीतिको पहिलो समीक्षाले निजी क्षेत्रले उठाएका विषय सम्बोधन गर्ने प्रयास गरेको बताए ।

राष्ट्र बैंकले घोषणा गरेको विषय कार्यान्वयन भएमात्रै बजारमा सकारात्मक प्रभाव देखिने उनीहरुको भनाइ छ । महासंघका अध्यक्ष ढकालले नीतिगत दर घटाउनुपर्ने भन्दै महासंघले राखेको माग राष्ट्र बैंकले पूरा गरेको बताए ।

‘कर्जा पुन:संरचना र पुनर्तालिकीरणको समय चैत मसान्तसम्म थप गर्ने घोषणा गरिएको छ । यो विषय कसरी कार्यान्वयन हुन्छ हेर्न बाँकी छ,’ ढकालले भने, ‘हामीले उठाउँदै आएको मौद्रिक नीतिको कार्यदिशा, संरचना, लक्ष्य र उपकरणका विषयमा सुझाव दिन बाह्य विज्ञहरु सम्मिलित मौद्रिक नीति सल्लाहकार समिति गठन गर्ने विषयसमेत समीक्षामा समेटिएको छ । प्रथम दृष्टिमा हेर्दा राष्ट्र बैंकले गरेको समीक्षा सकारात्मक छ ।’

ढकाल निजी क्षेत्रले उठाएको ऋणी र बैंकबीचको सहमतिमा कर्जा पुन:संरचना र पुनर्तालिकीकरण गर्ने विषयसमेत सकारात्मक भएको बताउँछन्  । निजी क्षेत्रले उठाएको विषय समग्र अर्थतन्त्रको हितको लागि रहेछ भन्ने राष्ट्र बैंकले स्वीकार गरेको उनको तर्क छ ।

नेपाल उद्योग परिसंघका अध्यक्ष अग्रवाल पनि राष्ट्र बैंकले गरेको मौद्रिक नीतिको पहिलो समीक्षा सकारात्मक भए पनि राष्ट्र बैंकले गरेको घोषणा कार्यान्वयन हुँदामात्रै आर्थिक गतिविधिमा सुधार हुने बताउँछन् ।

‘राष्ट्र बैंकले नीतिगत दर घटाएर बैंक वित्तीय संस्थालाई ब्याजदर घटाउन संकेत गरेको छ । गत साउनमा मौद्रिक नीतिले नीतिगत दर घटाउँदा भदौबाट बैंकले ब्याजदर बढाएका थिए,’ अग्रवालले भने, ‘यसपटक बैंकहरुले के गर्छन्, त्यसले मौद्रिक नीतिको समीक्षाको नतिजा दिन्छ ।’

अग्रवाल ब्याजदर घटाउने वातावरण बनाउन १० प्रतिशतमात्रै ब्याजदर बढाउन र घटाउन मिल्ने नीति राष्ट्र बैंकले संशोधन गर्नुपर्ने बताउँछन् ।


क्लिकमान्डु