मौद्रिक नीतिको समीक्षाप्रति सेयर लगानीकर्ताः ठिकै छ, सन्तोषजनक नै छ
काठमाडौं । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिको पहिलो समीक्षाबाट सेयर लगानीकर्ता खासै उत्साहित देखिएका छैनन् । लामो समयदेखि सुस्ताएको बजारलाई राष्ट्र बैंकले लिएको पछिल्लो नीतिले ‘केही सुधार गर्न सक्ने’ विश्वास भने उनीहरुमा पलाएको छ ।
लामो समयदेखि लगानीकर्ताले राखेका दुईवटा माग राष्ट्र बैंकले पूरा नगरे पनि नीतिगत दर घटाउने निर्णयले ब्याजदर घट्दा बजारमा सकारात्मक सञ्चार पैदा हुने अनुमान उनीहरुले गरेका छन् ।
लगानीकर्ताले सेयर धितोकर्जामा लगाएको व्यक्तिगततर्फको १५ करोड र संस्थागततर्फको २० करोडको सीमा हटाउन माग गरेका थिए । यस्तै जोखिम भार घटाएर १०० प्रतिशत कायम गर्नुपर्ने उनीहरुको माग थियो ।
हाल ५० लाखभन्दा बढी सेयर धितोकर्जाको जोखिम भार १५० प्रतिशत र ५० लाखभन्दा कमको १०० प्रतिशत थियो । समीक्षामार्फत ५० लाखभन्दा बढीको कर्जाको जोखिमभार १२५ प्रतिशत बनाइएको छ ।
जोखिमभार समग्रमा १०० प्रतिशतमात्रै राख्न माग गरेको भए पनि ५० लाखभन्दा बढीको सीमाको भार १२५ प्रतिशत कायम गर्दा बजारमा यसले केही सहजता ल्याउने सेयर लगानीकर्ताको विश्वास छ ।
पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेल मौद्रिक समीक्षा समग्रमा सन्तोषजनक नै रहेको बताउँछिन् । ‘समीक्षाले ब्याजदर केही घट्ने देखिएको र भारित औसत पनि केही घटेकाले बजारमा सकारात्मक प्रभाव देखिएला,’ उनले भनिन् ।
सेयर बजार सेन्टिमेन्टबाट पनि चल्ने भएकाले अहिले प्यानिक भएको बजारलाई यो समीक्षाले केही सकारात्मक बाटोतर्फ लैजाने उनको विश्वास छ । पहिलाभन्दा राष्ट्र बैंक केही लचिलो देखिएको पोखरेलले बताइन् ।
नेपाल इन्भेष्टर फोरमका उपाध्यक्ष राजन लम्साल मौद्रिक नीतिको समीक्षाले बजारले केही राहत पाउने बताउँछन् । लगानीकर्ताका मुख्य दुई माग पूरा नभए पनि समीक्षाले केही सुधार भने हुने उनको भनाइ छ ।
समीक्षामार्फत बैंक दरलाई ७.५ प्रतिशतबाट घटाएर ७ प्रतिशत, नीतिगत दरलाई ६.५ प्रतिशतबाट घटाएर ५.५ प्रतिशत कायम गर्दा ब्याजदर पनि केही घट्ने भएकाले लगानीकर्ताले सहजै कर्जा पाउन सक्ने लम्सालको बुझाइ छ ।
‘लगानीकर्ताको अपेक्षा पूरा भएन,’ उनले भने, ‘हाम्रो मुख्य दुई माग सेयर धितोकर्जाको सीमा हटाउने र जोखिम भारित घटाउने रहेको थियो । त्यो माग सबै पूरा भएन, जोखिम भारित केही घट्दा सहज हुनेछ ।’
सेयर लगानीकर्ता संघका कार्यवाहक अध्यक्ष ताराप्रसाद फुल्लेलले पनि मौद्रिक नीतिको समीक्षाले बजारमा राम्रो प्रभाव पार्ने बताए । लामो समयदेखि लगानीकर्ताले सेयर धितोकर्जामा लागेको १५ र २० करोडको क्याप हटाउन राष्ट्र बैंकलाई गरेको माग पूरा नभएकोमा भने उनी निराशा देखिए ।
कर्जाको जोखिमभार थोरै भए पनि घटाउनु स्वागतयोग्य भएको उनको भनाइ छ । यसले बजारमा कर्जा प्रवाह पनि बढ्नसक्ने फुल्लेलको अपेक्षा छ ।