हटेन सेयर कर्जामा १५ र २० करोडको सीमा
काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिको पहिलो समीक्षा सार्वजनिक गर्दै ५० लाखभन्दा बढीको सेयर धितो कर्जाको जोखिम भार घटाएर १५० बाट १२५ प्रतिशतमा झारे पनि सेयर धितो कर्जाको सीमा भने कायमै राखेको छ ।
अर्थमन्त्री डा. प्रकाशशरण महतदेखि राष्ट्र बैंक सञ्चालक समितिका कतिपय सदस्य र सेयर लगानीकर्ताको विशेष चासोका बीच पहिलो समीक्षाले कर्जाको सीमा नहटाएको हो ।
हाल सेयर धितो कर्जाको सीमा १५ करोड र संस्थागतको सीमा २० करोड रुपैयाँ छ । राष्ट्र बैंकले चौतर्फी विरोधपछि चालु आवको मौद्रिक नीतिमार्फत ४ करोड र १२ करोडको सीमालाई बढाएर १५ र २० पुर्याएको थियो ।
विभिन्न सार्वजनिक फोरममा राष्ट्र बैंकप्रति असन्तुष्टि जनाउँदै आएका अर्थमन्त्री महतले बिहीबार साँझ गभर्नर, डेपुटी गभर्नरलगायत सञ्चालक समितिका सम्पूर्ण सदस्यलाई बोलाएर सेयर धितो कर्जाको सीमा हटाउन निर्देशन नै दिएका थिए ।
तर, केन्द्रीय बैंकले शुक्रबार समीक्षा सार्वजनिक गर्दै सेयर धितो कर्जाको सीमामा कुनै हेरफेर गरेन । गभर्नरले जोखिम भारलाई सामान्य घटाएर लगानीकर्तालाई खुसी बनाउने प्रयास मात्र गरेका छन् ।
अघिल्लो साता प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोलाएको गोलमेच बैठकमा पनि सेयर कर्जाको जोखिम भार घटाउन व्यवसायीले सुझाव दिएका थिए । व्यवसायीको सुझावलाई आधार मान्दै प्रधानमन्त्रीले पनि सेयर कर्जाको जोखिम भार घटाउन आग्रह गरेका थिए ।
यसअघि २० करोड रुपैयाँसम्म ऋण लिने लगानीकर्ताका लागि जोखिम भार १५० प्रतिशत थियो, अब भने १२५ प्रतिशत हुनेछ । राष्ट्र बैंकको कडा नीतिका कारण सेयर धितोमा जाने कर्जा कम भएको लगानीकर्ताको बुझाइ छ ।
लगानीकर्ताले जोखिम भार १५० प्रतिशतलाई १०० मा झार्न माग गरेका थिए । लगानीकर्ताको मागमा प्रधानमन्त्री तथा अर्थमन्त्रीसमेत सहमत देखिएका थिए ।