सीजीलाई लाइसेन्स नदिनेहरु नै एनसेल काण्डमा संलग्न, सिनेमा चलिरहेको छ: निर्वाण चौधरी



काठमाडौं । चौधरी ग्रुपका प्रबन्ध निर्देशक एवं उद्योगी निर्वाण चौधरीले सीजी टेलिकमलाई लाइसेन्स नदिनेहरु एनसेल काण्डमा संलग्न भएको आरोप लगाएका छन् ।

सामाजिक सञ्जाल एक्समार्फत उद्योगी चौधरीले एनसेलको किनबेच प्रकरण र सीजीलाई टेलिकम कम्पनीमा पुर्‍याएको अवरोधका सम्बन्धमा कडा धारणा सार्वजनिक गरेका हुन् ।

‘एनसेल काण्डमा तिनै पात्र संलग्न छन्, जसले १० वर्षदेखि नेपाली टेलिकमलाई नेपालमा स्थापित हुन दिएनन्,’ उनले लेखेका छन्, ‘आज जे भएको छ, यही गर्नका लागि सीजी टेलिकमलाई यिनीहरू सबै मिलेर रोकेका हुन् । देशमा अहिले ‘तँ कुटेजस्तो गर्, म रोएजस्तो गर्छु’ नामक सिनेमा चलिरहेको छ ।’

नेपाली जनताले टेलिकम क्षेत्रका माफिया र संगठनलाई चिन्न पाएको पनि उनले बताएका छन् ।

‘सीजी टेलिकमले उपभोक्तालाई भ्वाइस र एसएमएस निःशुल्क उपलब्ध गराउने तथा ५० प्रतिशत सस्तोमा डाटा उपलब्ध गराउने वाचा गर्दा पनि किन नेपाली कम्पनीलाई स्वीकृति दिइएन भन्ने कुराको अब पटाक्षेप हुँदैछ । हेर्दै जाऔँ, अरु के-के देख्न पाइने हो ?’ उनले लेखेका छन् ।


क्लिकमान्डु