दियालो बंगला सर्वसाधारणका लागि खुला गर्ने तयारी, के छ दरबारमा ?



चितवन । भरतपुर महानगरपालिकाको आग्रहपछि दियालो बंगला सर्वसाधारणका लागि खुला गरिने भएको छ । नेपाल ट्रष्टको बुधबार बसेको सञ्चालक समिति बैठकले सन् २०२४ को प्रारम्भदेखि दियालो बंगला सर्वसाधारणका लागि खुला गर्ने निर्णय गरेको हो ।

सञ्चालक समितिका सदस्य देवीचन्द्र उपाध्यायका अनुसार सञ्चालनका सम्बन्धमा अर्को बैठकमा निर्णय गर्नेछ । भरतपुर महानगरपालिकाले सन् २०२४ लाई भरतपुर भ्रमण वर्षका रुपमा मनाउँदै छ ।

महानगरपालिकाको अनुरोधमा दियालो बंगला सर्वसाधारणका लागि खुला गर्ने निर्णय गरिएको उनले जानकारी दिए । उनका अनुसार भरतपुर महानगरपालिकासँग सहकार्य गरेर सर्वसाधारणका लागि प्रवेशको व्यवस्था मिलाइनेछ ।

जीर्ण रहेको संरचनाको मर्मतसम्भार र अत्यावश्यक थप संरचनासमेत निर्माण गरेर खुला गरिने उनको भनाइ छ । ‘भरतपुर भ्रमण वर्षमा सर्वसाधारणले दियालो बंगला हेर्न पाउँछन्,’ उनले भने ।

ट्रष्टको स्वामित्वमा रहेको दियालो बंगला तत्कालीन राजा महेन्द्रले निर्माण गराएका हुन् । महेन्द्रको निधन भएको दियालो बंगला ३५ हेक्टर क्षेत्रफलमा फैलिएको छ ।

तत्कालीन राजपरिवार यही दरबारमा आएर बस्ने र नारायणी नदी किनार क्षेत्रमा घुम्ने गर्थे । अहिले दरबार क्षेत्रमा नेपाल ट्रष्टका केही कर्मचारी व्यवस्थापनका लागि छन् भने सुरक्षा तथा संरक्षण नेपाली सेनाले गर्दै आएको छ ।

महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुर भ्रमण वर्षमा थप महत्वपूर्ण गन्तव्य दियालो बंगला दरबारलाई बनाइएको बताइन् । ‘भ्रमण वर्षलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्नेमा हामी लागिरहेका छौँ,’ उनले भनिन् ।

नेपाल ट्रष्ट प्रधानमन्त्री कार्यालयअन्तर्गत पर्छ । महानगरले दियालो बंगला खुला गर्न अधिकतम प्रयास गरेपछि ट्रष्टले निर्णय गरेको हो ।

के छ दरबारमा ?

दियालो बंगला क्षेत्र देवघाट प्रवेशद्वारमा छ । ऐतिहासिक रूपले महत्वपूर्ण मानिएको दरबार यतिबेला प्रयोगविहीन भएकाले ओझेलमा छ । दरबारभित्र पहिलो तलामा ठूलो बैठक कक्ष छ । जसको भित्तामा राजा महेन्द्र र वीरेन्द्रको तस्बिर छन् ।

भर्‍याङमा २०२६ सालमा राजा महेन्द्रले सिकार गरी मारेको घडियाल गोही सजाएर राखिएको छ । भित्तामा बाघको टाउको राखिएको छ ।

दरबारमा पाँचवटा खोपी छन् । १ नम्बरको खोपी रत्नराज्यको हो भने २ नम्बरको राजा र ३ नम्बरको रानी तथा ४ र ५ नम्बरको खोपी राजपरिवारका अन्य सदस्यका हुन् । सबै खोपीमा भित्रै शौचालय पनि छ ।

राजपरिवारले प्रयोग गरेका सामग्री अहिले पनि जस्ताको तस्तै राखिएको छ । दरबारको छेउमा दरबारका महिला सुसारेका लागि ‘नानीगन्ज’ छ भने सँगै राजाको सुरक्षा गार्डका लागि आवास  पनि छ । सो क्षेत्रमा ‘ग्यारेज’ र त्यसको छेउमा ‘स्विमिङ पुल’ पनि छ ।

ऐतिहासिक यो दरबार सर्वसाधारणको पहुँचभन्दा बाहिर छ । शान्त एवं रमणीय यो बंगलाको पश्चिम भएर बग्ने नारायणी नदीले दरबार क्षेत्रको सौन्दर्य बढाएको छ भने दरबारको बगैंचाले जोकोहीलाई आकर्षित गर्छ ।


क्लिकमान्डु